कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगबाट पीडित

चितवन, असोज १२ गते ।

भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित छन् । कारागार कार्यालयका अनुसार ६९ जना उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर, एचआइभीरएड्सलगायत रोगका बिरामी हुन् ।

कारागारमा क्यान्सरका कारण बर्सेनि बन्दीको मृत्यु हुने गरेको छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि विभिन्न कारागारबाट क्यान्सरका बिरामी बन्दीलाई रिफर गरिने भएकाले अन्तिम चरणका बिरामीको मृत्यु हुने गरेको कार्यालयले जनाएको छ ।

कारागार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरका कारण एक जना बन्दीको मृत्यु भएको कारागार कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिए।

आर्थिक वर्ष २०८२/८३ मा एक जना र आर्थिक वर्ष २०८१/८२ मा एक जना बन्दीको क्यान्सरका कारण मृत्यु भएको थियो । सूचना अधिकारी ढुङ्गानाका अनुसार हाल कारागारमा क्यान्सरका तीन जना बिरामी छन् । तीमध्ये दुई कारागारभित्र र एक जना अस्पतालमा उपचाररत छन् ।

कारागारमा रहेका दीर्घ तथा जटिल रोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामी सबैभन्दा बढी रहेका सूचना अधिकारी ढुङ्गानाले बताए । तथ्याङ्कअनुसार ४२ जनामा उच्च रक्तचाप र २२ जना मधुमेहबाट पीडित छन् ।

सूचना अधिकारी ढुङ्गानाका अनुसार हाल क्यान्सरका एक र अन्य रोगका एक गरी दुई जना बन्दी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । उनले कारागारभित्र रहेका बिरामी बन्दीको दैनिक स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार स्वास्थ्यकर्मीले गर्ने गरेको बताए।

एचआईभी सङ्क्रमित पाँच जना बन्दीले नियमित रूपमा एआरटी औषधि सेवन गरिरहेका छन् । हाल जिल्ला कारागार कार्यालय चितवनमा ७१७ पुरुष, ४२ महिला र दुई जना आश्रित नाबालक रहेका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको