मधेशका सीमा नाकामा आईजीपी पौडेल

रौतहट, असोज १५ गते ।

सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायणदत्त पौडेलले मधेश प्रदेशका सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउन मातहतका सुरक्षाकर्मीलाई कडा निर्देशन दिएका छन् ।

मधेश प्रदेशका विभिन्न सीमा नाका तथा सुरक्षा युनिटको अनुगमनका क्रममा उनले सीमा अपराध, तस्करी तथा राजस्व चुहावट नियन्त्रणमा उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका हुन् ।

बिहीबार नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीसहित मातहतका गण, गुल्म, बोर्डर आउटपोस्ट (बीओपी) तथा सुरक्षा बेसको निरीक्षण गर्दै महानिरीक्षक पौडेलले सीमा सुरक्षामा खटिएका कमाण्डर र कर्मचारीसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए ।

मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी विष्णु भट्टका अनुसार अनुगमनका क्रममा उनले सीमा क्षेत्रमा भइरहेका गतिविधि, अवैध आवतजावत तथा सम्भावित अपराध नियन्त्रणका लागि पूर्वयोजना बनाएर काम गर्न निर्देशन दिए । सीमा अपराध र राजस्व चुहावट नियन्त्रणलाई परिणाममुखी बनाउन नियमित निगरानी, सूचना संकलन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

पौडेलले सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्दा स्थानीय बासिन्दासँगको सम्बन्धलाई पनि प्राथमिकतामा राख्न निर्देशन दिए । सीमावर्ती नागरिकसँग सुमधुर सम्बन्ध कायम गर्दै उनीहरूलाई सुरक्षा प्रणालीसँग जोड्न तथा सीमा वारपार गर्ने सर्वसाधारणलाई अनावश्यक असहजता नहुने गरी जिम्मेवारी निर्वाह गर्न उनले आग्रह गरे । उनले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ लाई थप प्रभावकारी बनाउनसमेत निर्देशन दिएका छन् ।

विपद् व्यवस्थापनमा तयारी अवस्थामा रहन निर्देशन

मनसुन तथा वर्षायामलाई मध्यनजर गर्दै महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापनतर्फ पनि उच्च तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

बाढी, डुबानलगायतका विपद्जन्य घटना भए तत्काल परिचालन हुनसक्ने गरी तालिम प्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राख्न उनले निर्देशन दिएका हुन् ।

यसका साथै विपद्का बेला स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

जटही नाकाको निरीक्षण

महानिरीक्षक पौडेलले धनुषाको सीमा क्षेत्रमा पर्ने जटही नाकाको समेत स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले त्यहाँको सीमा सुरक्षा अवस्था, शान्ति सुरक्षा तथा सीमावर्ती क्षेत्रमा देखिएका समस्याबारे जानकारी लिए । उनले स्थानीय बासिन्दासँग भेटघाट गरी सीमा क्षेत्रमा उनीहरूले भोगिरहेका समस्या र सुरक्षा अवस्थाका विषयमा समेत जानकारी लिएका थिए ।

डीआईजी भट्टका अनुसार महानिरीक्षक पौडेलको अनुगमन मुख्यतः सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण, राजस्व चुहावट रोकथाम र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको तयारीको अवस्थाबारे केन्द्रित थियो ।

यस क्रममा महानिरीक्षक पौडेलले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग पनि भेटघाट गरेका छन् । भेटमा समसामयिक विषय तथा प्रदेशको सुरक्षा अवस्थाबारे छलफल भएको जनाइएको छ । न्यूजकारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको