काठमाडौं, असोज २२ गते ।
नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको निर्वाचन दिउँसो एक बजेलाई सारिएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले निर्वाचनको तयारी नपुगेकाले दिउँसो एक बजेका लागि सारिएको जानकारी दिए ।
यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक भए पनि वर्षा र केही प्राविधिक कारण देखाउँदा १० बजेदेखि सुरु गर्ने भनिएको थियो । तर अहिले फेरी दिउँसो एक बजेसम्मका लागि सारिएको हो ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
तीन स्थानमा मतदानको व्यवस्था
मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।
निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ ।
प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् ।
भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।






