रौतहट, असोज २४ गते ।
रौतहटको मौलापुर नगरपालिका-१ मर्यादपुरका स्थानीयवासी लागूऔषध दुर्व्यसन र सामाजिक विकृतिविरुद्ध सामूहिक अभियान सञ्चालन गर्न अघि सरेका छन्। गाउँमा बढ्दो कुलत नियन्त्रण गर्दै युवालाई गलत बाटोमा जानबाट रोक्ने र सामाजिक अनुशासन कायम गर्ने उद्देश्यले स्थानीयस्तरमा समाज सुधार समिति गठन गरिएको छ।
स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, किसान तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा भएको बैठकले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै गाउँमा सकारात्मक र मर्यादित वातावरण निर्माण गर्ने निर्णय गरेको हो।
समाज सुधारको अभियान अरूलाई उपदेश दिनेमा मात्र सीमित नराखी आफूबाटै सुरु गर्ने प्रतिबद्धतासमेत बैठकमा व्यक्त गरिएको छ। समितिमा आबद्ध व्यक्तिले चुरोट, खैनीलगायत कुनै पनि नशालु पदार्थ सेवन नगर्ने र प्रतिबद्धता उल्लङ्घन गरेमा ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय गरिएको सहभागी भोला पाण्डेले जानकारी दिए।
त्यस्तै, गाउँमा गाँजा, चरेस, वाटर गनलगायत लागूऔषध तथा नशालु पदार्थ सेवन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि स्थानीयस्तरमा कडाइ गर्ने निर्णय भएको छ।
कानुनी कारबाहीसँगै सामाजिक जागरण आवश्यक
लागूऔषध दुर्व्यसनले युवाको भविष्य, पारिवारिक सम्बन्ध र सामाजिक वातावरणमा नकारात्मक असर पार्न सक्ने भएकाले यसको नियन्त्रणमा प्रहरी तथा प्रशासनको कारबाहीसँगै समुदायको सक्रियता पनि महत्त्वपूर्ण मानिन्छ। यही बुझाइका साथ मर्यादपुरका बासिन्दाले गाउँबाटै सुधारको पहल थालेका हुन्।
युवालाई दुर्व्यसनबाट जोगाउन जनचेतना, अभिभावकको निगरानी, सकारात्मक गतिविधिमा सहभागिता र आवश्यक परेकालाई परामर्श तथा उपचारको पहुँच सुनिश्चित गर्नु पनि उत्तिकै जरुरी देखिन्छ। अभियानलाई निष्पक्ष, कानुनसम्मत र निरन्तर बनाउन सके स्थानीय प्रयास प्रभावकारी बन्न सक्छ।
बैठकमा मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादव, वडा नम्बर १ का अध्यक्ष जयनाथ कुशवाहा, मेयरका प्रत्याशी रामाप्रवेश यादव, कृष्ण तिवारीलगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, किसान, बुद्धिजीवी र नागरिक समाजका प्रतिनिधिहरू सहभागी थिए।
समिति गठनसँगै मर्यादपुरमा लागूऔषध दुर्व्यसन नियन्त्रण, सामाजिक विकृति न्यूनीकरण र गाउँमा शान्ति तथा सद्भाव कायम गर्ने अभियानलाई अघि बढाउने तयारी गरिएको छ। स्थानीयको यो पहलले निरन्तरता पाएमा समाज सुधारमा सामूहिक जिम्मेवारी र सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। न्युज कारखाना






