रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै

काठमाडौं, असोज २७ गते ।

रास्वपाको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन थालेको छ ।

पार्टी महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गरी सुनारमाथि लागेको आरोप गम्भीर रहेको उल्लेख गरेका थिए । ‘पार्टीको धारणा आइसकेको छ । अनुशासन आयोग चाहिँ स्वतन्त्र हो । त्यसैले हामीले सबै प्रमाणहरु संकलन गरिरहेका छौं’ रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले अनलाइनखबरसँग भने,’सांसदसँग पनि हामी कुरा गर्न खोजिरहेका छौं । अनि जो महिलाको नाम जोडिएको छ उहाँसँग पनि भेट्ने कोसिसमा छौं ।’

उनले अडियोमा आएका कुरा गम्भीर प्रकृत्तिको रहेको बताए । त्यसैले विषयको गाम्भीर्यतालाई हेरेर छिटो निष्कर्षमा पुग्ने भट्टराईले बताए । ‘हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि निष्कर्ष दिन्छौं’ भट्टराईले भने ।

आरोप लागेका व्यक्तिलाई आफ्ना धारणा राख्नु दिनुपर्ने भएकाले सांसद सुनारलाई पनि भेटेर कुरा गर्ने उनले बताए । सुनार भने अहिले काठमाडौं बाहिर छन् ।

सांसद सुनारले एक महिलालाई अश्लिल गालीगलौच गरेको, धम्की दिएको अडियो सोमबार सार्वजनिक भएको थियो ।

सांसद सुनारको यो अडियोलाई संसदीय दलले पनि गम्भीरतापूर्वक लिएको सचेतक प्रकाशचन्द्र परियारले बताए । उनका अनुसार रास्वपा पार्टीले विधि पछ्याउने तर गलत गतिविधि गर्नेलाई रक्षा गर्ने छैन । ‘अडियोमाथि छानबिन हुन्छ । यदी त्यो सम्बन्धित व्यक्तिको हो भन्ने प्रमाणित भयो भने पार्टी एउटा व्यक्तिको पछि सती जान सक्दैन’ परियारले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको