काठमाडौं, असोज २९ गते ।
चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो हुँदा व्यापार घाटा २६ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड पुगेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको दुई महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ८।६ प्रतिशतले मात्र बढेको थियो।
समीक्षा अवधिमा नेपालको कुल वस्तु निर्यात ६१.९ प्रतिशतले वृद्धि भई ७६ अर्ब ५९ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.६ प्रतिशतले बढेको थियो। गन्तव्यका आधारमा भारततर्फको निर्यात ७०.६ प्रतिशत, चीनतर्फको १३७.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात २२.७ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत रूपमा भटमासको तेल, पोलिष्टर धागो, पाम तेल, जिंक सिट र पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ भने आयुर्वेदिक औषधि, प्रशोधित छाला, दाल, नेपाली कागज तथा जडीबुटीको निर्यातमा गिरावट आएको छ।
निर्यातसँगै मुलुकमा हुने वस्तु आयात पनि ३१.६ प्रतिशतले वृद्धि भई ४ खर्ब १ अर्ब ५२ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा आयात १६.२ प्रतिशतले मात्र बढेको थियो। मुलुकगत आधारमा भारतबाट हुने आयात २७.४ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ५६.६ प्रतिशतले बढेको छ।
यस अवधिमा पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल, खाने तेल र सवारी साधन तथा स्पेयर पार्टपुर्जाको आयात बढेको छ भने सुन, धान(चामल, हवाइजहाजका पार्टपुर्जा तथा मेडिकल सामानको आयात घटेको छ। एभरेष्ट न्यूज एजेन्सी






