काठमाडौँ, कार्तिक १० गते ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मलेसिया लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर सम्पर्कविहीन हुने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पीडितले दिएको जाहेरी दरखास्तका आधारमा अनुसन्धान गर्दा मलेसिया पठाउने भनी ठगी गर्ने उनीहरूलाई काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–६ स्थायी वतन भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–१० बस्ने ४४ वर्षीय सञ्जय सुवेदी र चितवनको राप्ती नगरपालिका–१ स्थायी वतन भई हाल नागार्जुन–१० बस्ने ३४ वर्षीया मधुमालती स्याडताड रहेका छन्।
पक्राउ परेका सञ्जय सुवेदीले एक जना पीडितबाट सात लाख रुपैयाँ ठगी गरेका थिए भने मधुमालती स्याडताडले अर्का एक पीडितबाट दुई लाख रुपैयाँ ठगी गरेकी थिइन्।
ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिएका छन्। एभरेष्ट न्यूज एजेन्सी








