काठमाडौं, कार्तिक ११ गते ।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ले खतरनाक रुप लिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । यसको असर हिमालदेखि तराईसम्मै पर्ने सम्भावना भएकाले सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले विहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकाय र सुरक्षा अंगलाई पूर्वतयारीका साथ रहन भनिएको जानकारी दिए ।
भारतको मौसम विभागका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहानसम्म आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान छ । चक्रवातका कारण ११५ देखि १२५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र हावाको गति बढेर १४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
चक्रवातले क्षति पुर्याउन सक्ने भन्दै भारतका विभिन्न क्षेत्रमा पनि उच्च सतर्कता अपनाइएको छ । दक्षिण तटीय रेलवेले अक्टोबर २७ र २८ मा सञ्चालन हुने ५३ वटा रेल सेवा रद्द गरेको छ । विशाखापटनम र विजयवाडा आउने–जाने उडानसमेत प्रभावित हुन सक्ने भन्दै एयर इन्डियाले यात्रुलाई उडानको अवस्था जाँच गरेर मात्रै विमानस्थल जान आग्रह गरेको छ ।
प्रभावित क्षेत्रमा विद्यालय बन्द गरिएको छ भने बालबालिका, ज्येष्ठ नागरिक लगायतलाई सुरक्षित राख्दै खाद्यान्नको जोहो गर्न भनिएको छ ।
नेपालमा बिहीबारदेखि देखिने छ बढी असर
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि कात्तिक १२ गते बिहीबार रातिदेखि भने बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष असर पर्नेछ । त्यसको संकेत भने आजबाटै देखिन थाल्नेछ ।
आज कात्तिक ११ गते बुधबारको दिन कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
१२ गते बिहीबारबाट भने कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुने पूर्वानुमान छ ।
महाशाखाका अनुसार शुक्रबार र शनिबार भने नेपालमा तुलनात्मक रुपमा बढी असर देखिने छ । शुक्रबार र शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात पनि हुन सक्ने बरिष्ठ मौसमविद विभूति पोखरेलले बताइन् ।
चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिएपछि वर्षा र हिमपात हुने पूर्वानुमान मौसमविदले गरेका छन् । ‘तर अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ,’ विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन् ।
वर्षा र हिमपातका कारण हिमाली तथा पहाडी क्षेत्रमा जनजीवन, सडक यातायात र दैनिक गतिविधिमा असर पर्न सक्ने भएकाले मौसमको अद्यावधिक सूचना हेर्न र आवश्यक सतर्कता अपनाउन उनले सुझाव दिइन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख एवम् विपद्विज्ञ डा। धर्मराज उप्रेतीले मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार बिहीबार रातिदेखि शनिबारसम्म उच्च सतर्कता अपनाइएको जानकारी दिए । पहिलेदेखि नै जोखिम पहिचान भएका क्षेत्रमा विशेष सावधानी अपनाउन सम्बन्धित निकायलाई भनिएको डा। उप्रेतीले बताए ।
तीन दिन पदयात्रा बन्द
मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शुक्रबार र शनिबार मौसम प्रतिकूल हुनुसक्ने सम्भावना छ । ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ भने केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावासहित मध्यम वर्षा हुन सक्नेछ । ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । चक्रवातको सम्भावित प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले पर्यटक, पदयात्री र पर्वतारोहणमा जानेहरूलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ । अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गते पदयात्रामा जान रोक लगाइसकेको छ । यसअघि नै पदयात्रामा गएकाहरुलाई पनि मौसम प्रतिकूल रहने अवधिभर सुरक्षित स्थानमा बस्न भनिएको छ ।
विपद्का बेला राष्ट्रिय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ र पर्यटक प्रहरीको ११४४ नम्बरमा सम्पर्क गर्न सकिने विपद् प्राधिकरणले जनाएको छ ।
सम्भावित हिमपात र प्रतिकूल मौसमका कारण पदमार्ग अवरुद्ध हुने, यात्रा कठिन बन्ने तथा जनजीवन प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकायको निर्देशन पालना गर्न भनिएको छ ।
सडक तथा हवाई यातायातलगायत दैनिक गतिविधिमा असर पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरिएको छ ।
सम्भावित बाढीको जोखिम रहेका नदीकिनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न, मौसमसम्बन्धी पूर्वानुमान र पूर्वसूचनाको नियमित जानकारी लिन तथा सम्बन्धित निकायले जारी गरेका निर्देशन पालना गर्न पनि विपद् प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार मौसमसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न सकिने छ । यसैगरी विपद्का बेला राष्ट्रिय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ र पर्यटक प्रहरीको ११४४ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।
भारतका तटीय क्षेत्रमा पनि उच्च सतर्कता
भारतको मौसम विभागका अनुसार चक्रवात ‘अर्नब’ पश्चिम–मध्य बंगालको खाडीमा केन्द्रित हुँदै आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ । बुधबार बिहानसम्म बापटला र विशाखापत्तनमबीचको तटीय क्षेत्रमा चक्रवात प्रवेश गर्ने अनुमान गरिएको छ । त्यसबेला चक्रवात अत्यन्त गम्भीर अवस्थामा रहने पूर्वानुमान छ ।
चक्रवातसँगै तीव्र हावा र भारी वर्षा हुँदा तटीय क्षेत्रमा रुख ढल्ने, विद्युत्का खम्बामा क्षति पुग्ने, कमजोर संरचना भत्किने तथा तल्लो भूभागमा डुबान हुने जोखिम छ । त्यसैले स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आधिकारिक निर्देशन पालना गर्न आग्रह गरेको छ ।
भारतका विभिन्न क्षेत्रमा भारी वर्षाको चेतावनीसमेत जारी गरिएको छ । अक्टोबर २७ र २८ मा तटीय आन्ध्र प्रदेश तथा यनममा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान छ । ओडिशामा अक्टोबर २८, छत्तीसगढमा अक्टोबर २८ र २९ तथा पूर्वी उत्तर प्रदेशमा अक्टोबर २९ मा भारी वर्षाको सम्भावना औँल्याइएको छ ।
चक्रवातको प्रभावसँगै भारतका प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्ने, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षा गर्ने र आवश्यक राहत सामग्री वितरण गर्ने तयारी गरिएको छ ।
नेपालमा पनि बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना रहेकाले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । एभरेष्ट न्यूज एजेन्सी








