विराटनगर, कार्तिक ११ गते ।
पर्यटक भिजामा नेपाल आएर अरू नै काम गरेको आरोपमा मोरङ प्रशासनले बुधबार १० जना विदेशीको पासपोर्ट जफत गरेर अध्यागमन विभागलाई बुझाएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले दिएको जानकारी अनुसार कानेपोखरी गाउँपालिका–७, बरगाछीमा भेटिएका उनीहरूको पासपोर्ट जफत गरिएको हो।
‘अहिले विदेशी नागरिक पक्राउ गरिएको भनेर धेरै चर्चा भइरहेको छ, हामीले एक जना पनि विदेशी नागरिक पक्राउ गरेका छैनौं,’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले भने, ‘हामीले भिसा र उनीहरूले गरिरहेको कामबीच तालमेल नमिलेको पाएपछि पासपोर्ट चाहिँ नियन्त्रणमा लिएका हौं। हामीले सबैको पासपोर्ट अध्यागमन विभागमा पठाएका छौं।’
उनीहरूले कानेपोखरीमा स्वास्थ्य शिविर गरिरहेको पाइएको थियो। यसरी पासपोर्ट जफत गरिएकाहरूमा दक्षिण अमेरिकी मुलुक ब्राजिलका ३ जना, क्यानडाका २ जना र संयुक्त राज्य अमेरिकाका ५ जना छन्।
प्रहरी स्रोतले भने पर्यटक भिसामा आएर धर्म प्रचार गरिरहेका कारण उनीहरूको पासपोर्ट नियन्त्रणमा लिइएको जानकारी दिएको छ।








