काठमाडौं, कार्तिक १२ गते ।
जापान फुटबल संघका उपाध्यक्षले पदबाट राजीनामा दिएका छन्।
उनले विश्वकपसँग जोडिएका विवादहरूप्रति अपनाइएको “प्रतिक्रियाको शृङ्खला” आफ्नो व्यक्तिगत मूल्यमान्यतासँग मेल नखाएको बताउँदै सो राजिनामा दिएका हुन्। सन् १९९८ र २०१० को विश्वकपमा जापानको प्रशिक्षक रहेका ताकेशी ओकादाले राजीनामा दिएका हुन्।
एसियाली फुटबल प्रमुखले फिफा अध्यक्षमा पुनः निर्वाचित हुनका लागि जियानी इन्फान्टिनोले अघि सारेको उम्मेदवारीलाई एसियाली क्षेत्रको समर्थन रहेको बताएको एक साता नबित्दै उनले पद छाडेका हुन्। एसियाली फुटबल महासंघका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल–खलिफाले टोकियोमा भएको एक बैठकमा स्पष्ट समर्थन व्यक्त गरेका थिए।
फिफाका विश्वकपजस्ता प्रमुख प्रतियोगिताहरूलाई निजी लगानीकर्ताहरूका लागि खुला गर्ने इन्फान्टिनोको योजनाको विरोधमा युरोप र उत्तर अमेरिकाका फुटबल निकायहरूसँगै एएफसी पनि उभिएको केही हप्तापछि यो घटनाक्रम आएको हो।
चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचित हुने प्रयासमा रहेका इन्फान्टिनोले पदबाट राजीनामा दिनुपर्ने मागको सामना गरिरहेका छन् भने उनले केही फुटबल संघहरूको समर्थन पनि गुमाएका छन्। जापान फुटबल संघका तीन उपाध्यक्षमध्ये एक, ओकादाले आफूले ‘पूर्ण रूपमा आफ्नै इच्छाले’ राजीनामा दिएको बताए।
उनले भने, ‘आफ्नो सम्पूर्ण खेल जीवनमा, खेलकुद इमानदारीपूर्वक सञ्चालन गरिनुपर्छ भन्ने मेरो मान्यताका आधारमा मैले खेलकुदको सामाजिक मूल्यलाई उच्च महत्त्व दिएको छु तर हालैको फिफा विश्वकपसँग जोडिएका विभिन्न प्रतिक्रियाहरूलाई हेर्दा ती प्रतिक्रियाहरू र मेरा आफ्नै मान्यताहरूबीच ठूलो खाडल छ, एक खेलाडीका रूपमा म तिनलाई स्वीकार गर्न सक्दिनँ,’ उनले प्रारम्भिक प्रतिक्रिया दिदैँ भने ।
निजी लगानीसम्बन्धी असफल परियोजनाका लागि माफी मागेका इन्फान्टिनो सन् २०१६ देखि फिफाको नेतृत्वमा छन् र उनी आगामी मार्च महिनामा हुने निर्वाचनमा पुनः उम्मेदवार बन्दै छन्।
दुई महिनाअघि मात्रै एएफसी र शेख सलमानले इन्फान्टिनोको विपक्षमा उभिन सक्ने संकेत दिएका थिए। युरोपेली निकाय युइएफए तथा उत्तर र मध्य अमेरिका एवं क्यारिबियन क्षेत्रका महासंघहरूको प्रतिनिधित्व गर्ने कन्काकाफसँगको संयुक्त पत्रमा फुटबल “कुनै एक व्यक्तिको होइन” भनी उल्लेख गरिएको थियो।
ओकादाले आफ्नो निर्णय “गम्भीर र बारम्बारको विचार–विमर्शपछि लिइएको” बताए। उनले भने, “एएफसीसँगको हाम्रो सम्बन्ध र जापानी फुटबलमा पर्ने प्रभावलाई ध्यानमा राख्दा, हाम्रो अडानलाई एएफसीको अडानसँग मिलाउनुपर्ने व्यावहारिक कारणहरू छन् भन्ने कुरा म बुझ्छु।” न्यूज कारखाना








