आज एनपीएलको पहिलो खेल रद्द हुने सम्भावना, दोस्रो के होला ?

काठमाडौँ, कार्तिक १४ गते ।

काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने पहिलो खेल रद्द हुने सम्भावना बढेको छ। दोस्रो खेल पनि हुने वा नहुने अन्योलमा परेको छ।

शनिबार दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच पहिलो खेल हुँदैछ। तर मौसमविद्ले दिउँसो २ बजेसम्म काठमाडौंमा वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार दिउँसो १ देखि २ बजेसम्म धेरै स्थानमा वर्षा हुने सम्भावना छ। त्यसपछि भने वर्षा क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ। ‘आज दिउँसो १–२ बजेसम्म धेरै ठाउँमा वर्षा जारी रहने देखिन्छ। काठमाडौंमा पनि करिब २ बजेसम्म पानी परिरहने पूर्वानुमान छ। त्यसपछि क्रमशः कम हुने आशा गरौँ’, पोखरेलले लेखेका छन्।

वर्षा रोकिए पनि मैदान खेलका लागि तयार पार्न पर्याप्त समय नहुने देखिन्छ। लामो समयको वर्षाका कारण मैदानको बाहिरी भागमा पानी जमेको र जमिन भिजेर हिलाम्मे भएको हुन सक्छ। यस्तो अवस्थामा पिचलाई कभरले जोगाइएको भए पनि आउटफिल्ड खेल्नयोग्य बनाउन थप समय लाग्नेछ।

मैदानमा पानी जमेको अवस्थामा बलरलाई दौडिएर बलिङ गर्न र फिल्डरलाई दौडिन तथा दिशा परिवर्तन गर्न कठिन हुन्छ। यसले खेलाडीको सुरक्षामा समेत जोखिम निम्त्याउन सक्छ। त्यसैले वर्षा रोकिएलगत्तै खेल सुरु गर्न सम्भव नहुन सक्छ।

पहिलो खेलका लागि समय पनि चुनौतीपूर्ण छ। दोस्रो खेल साँझ ५ बजेका लागि तय भएकाले पहिलो खेलमा कम्तीमा पाँच ओभरको खेल गराउन दिउँसो करिब ३ः४० देखि ३ः५५ बजेसम्मको समयसीमा रहने देखिन्छ। मैदानलाई खेल्नयोग्य बनाउन दुईदेखि तीन घण्टा लाग्न सक्ने भएकाले वर्षा दिउँसो १ बजेसम्म नरोकिने हो भने पहिलो खेल हुने सम्भावना निकै कम हुनेछ।

दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलपछि मैदानको अवस्था र वर्षा रोकिने समयले दोस्रो खेलको सम्भावना निर्धारण गर्नेछ।

एनपीएलमा कुनै पनि खेलका लागि रिजर्भ डे राखिएको छैन। त्यसैले वर्षाका कारण खेल हुन नसके दुवै टोलीले अंक बाँड्नुपर्ने अवस्था आउन सक्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको