अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति

काभ्रे, कार्तिक १४ गते ।

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ ।

आज बिहान लेदोमाटो बगेर स्थानीय शेरबहादुर तामाङको ढुङ्गा-माटोले बनेको जस्ताको छानो भएको एकतले घर पुरिएको हो । घरको जस्ता मात्र देखिने गरी लेदो माटोले पुरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

सोही स्थानमा रहेका शेरबहादुरकै नजिकको अर्को तीनतले घर र स्थानीय हर्कबहादुर तामाङको तीनतले घरसमेत लेदोसहितको पानी पसेको छ । हर्कबहादुरको घरनजिक रहेको जस्तापाता र काठले बनेको गोठ पूर्ण रूपमा क्षति भएको छ ।

घटनामा मानवीय तथा चौपायाको क्षति नभएको र दुवै परिवारका आठ–आठ गरी १६ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरी टोलीले दुवै परिवारलाई आफन्तको घरमा सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको