मुम्बई, कार्तिक १६ गते ।
आइतबार बलिउड अभिनेता अमिताभ बच्चन मुम्बईस्थित आफ्नो निवास ‘जलसा’ बाहिर आफ्ना प्रशंसकहरूलाई भेट्न निस्किए।
बमको धम्की आएपछि उनी बुलेटप्रुफ (गोली नछिर्ने) सिसाको कक्षभित्र देखा परेका थिए। सोही कक्षभित्रबाट उनले बाहिर भेला भएका प्रशंसकहरूलाई हात हल्लाएर अभिवादन गर्नुका साथै परम्परागत शैलीमा हात जोडेर ‘नमस्कार’ पनि गरे।
हालै अमिताभ बच्चनको घरलाई बमले उडाइदिने धम्की आएपछि मुम्बई प्रहरीले उनको सुरक्षा व्यवस्था कडा पारेको छ।
हरेक आइतबार अमिताभ बच्चन आफ्ना प्रशंसकहरूलाई अभिवादन गर्न आफ्नो बंगला ‘जलसा’ बाहिर आउने गर्छन्। यो परम्परालाई ‘सन्डे दर्शन’ (आइतबारको दर्शन) भनिन्छ। हालै अमिताभ बच्चनको निवासलाई बमले उडाइदिने धम्की आएको थियो। यस घटनापछि मुम्बई प्रहरी उच्च सतर्कतामा आएको छ र ‘जलसा’ वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ। आइतबार ‘दर्शन’ को समयमा प्रहरीकर्मीहरू ब्यारिकेड नजिकै तैनाथ रहेर भीडमाथि कडा निगरानी राखेका थिए।
पछिल्लो ‘सन्डे दर्शन’ को समयमा अमिताभ बच्चनका साथमा उनका छोरा अभिषेक बच्चन पनि देखिएका थिए। सामान्यतया यो परम्पराअनुसार अमिताभ आफ्ना प्रशंसकहरूसामु एक्लै उपस्थित हुने गर्छन् तर यस पटक भने बुबाको पछाडि उभिएका अभिषेकको उपस्थिति धेरैको ध्यान तान्न सफल भयो।
अमिताभ बच्चनले हालै आफ्नो ब्लगमा आफूलाई केही आरामको आवश्यकता रहेको उल्लेख गरेका छन्। उनले लेखे अनुसार, चिकित्सकहरूले उनलाई केही दिन विश्राम लिन र आफ्नो स्वास्थ्यमा ध्यान केन्द्रित गर्न सल्लाह दिएका छन्।
यसअघि उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै शरीरलाई तन्दुरुस्त बनाउन अझ बढी समय आवश्यक रहेको बताएका थिए। यति हुँदाहुँदै पनि उनले आइतबार आफ्ना प्रशंसकहरूसँग भेटघाट गर्ने आफ्नो पुरानो परम्परालाई भने निरन्तरता दिए।
अमिताभ बच्चनले लामो समयदेखि यो परम्परालाई निरन्तरता दिँदै आएका छन । हरेक आइतबार उनका प्रशंसकहरूको भीड उनको घरबाहिर जम्मा हुन्छ र एक झलक हेर्नका लागि घण्टौँसम्म प्रतीक्षा गर्छन् ।
प्राप्त जानकारी अनुसार अक्टोबर २३ का दिन मुम्बईकी मेयर ऋतु तावडेको कार्यालयमा एउटा धम्कीपूर्ण इमेल आएको थियो। उक्त इमेलमा अमिताभ बच्चनको बंगला, मुम्बईमा आयोजना हुने गायक तथा अभिनेता दिलजित दोसाञ्जको कन्सर्ट र केही विद्यालयहरूलाई निशाना बनाउने धम्की दिइएको थियो। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ को बीचमा जुहूस्थित अमिताभको बंगला ‘जलसा’ लाई निशाना बनाउने कुरा उल्लेख गरिएको थियो। न्यूज कारखाना








