काठमाडौं, कार्तिक १७ गते ।
अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
३८ वर्षीय म्याक्सवेलले प्रथम श्रेणी र लिस्ट ए क्रिकेटबाट समेत बिदा लिने घोषणा गरेका छन् । तर उनी घरेलु टी–२० प्रतियोगिता बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेल्ने बताएका छन् । उनको सम्झौता सन् २०२७–२८ सिजनसम्म थपिएको छ ।
म्याक्सवेलले यसअघि नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । उनले सन् २०२६ को टी–२० विश्वकपमा अस्ट्रेलियाबाट खेलेका थिए । गत फेब्रुअरीमा ओमानविरुद्धको खेल उनको अस्ट्रेलियाका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल बनेको छ ।
दुई पटक एकदिवसीय विश्वकप जितेका म्याक्सवेल सन् २०२१ मा अस्ट्रेलियाले टी–२० विश्वकप जित्दा पनि टोलीका महत्वपूर्ण सदस्य थिए । उनले अस्ट्रेलियाका लागि १३० टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८९७ रन बनाउनुका साथै ५१ विकेट लिएका छन्। उनको स्ट्राइक रेट १५४।४२ रहेको छ ।
टी–२० अन्तर्राष्ट्रियमा म्याक्सवेलले पाँच शतक बनाएका छन् । यो रोहित शर्मासँगै संयुक्त विश्व कीर्तिमान हो । उनले अस्ट्रेलियाका लागि सात टेस्ट खेलेर ३३९ रन बनाएका थिए । उनको उच्चतम स्कोर भारतविरुद्ध राँचीमा बनाएको १०४ रन हो । एभरेष्ट न्यूज एजेन्सी








