शैलेन्द्र महतो
जनकपुरधाम, कार्तिक १८ गते ।
मधेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपर्ने समय अब १० दिन मात्र बाँकी छ । नेपाली कांग्रेस नेतृत्वको मधेश सरकार अहिलेसम्म अल्पमतमा छ ।
यद्यपि, मुख्यमन्त्री यादव आफ्नै नेतृत्वको सरकार टिकाउने कसरतमा जुटिरहेका छन् । एमालेले साथ छाडेपछि मुख्यमन्त्री यादवलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले काँध थापिरहेको छ ।
गत असोज ३० गते नेकपा एमाले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । जसका कारण यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो भने त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता मुख्यमन्त्री यादवलाई छ ।
मधेश सरकारबारे विभिन्न दलका केन्द्रीय नेतृत्व तहमा छलफल भइरहेको छ । उनीहरूबीच नयाँ समीकरण बनाउने विषयमा छलफल भइरहेको छ ।
खासगरी, जनता समाजवादी पार्टी नेपाल ९जसपा० आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयासमा छ । जसका लागि एमालेले समर्थन फिर्ता लिएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भएको थियो । त्यतिबेला एमाले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन सकारात्मक थियो ।
तर, जनमत पार्टीले जसपा नेतृत्वमै सरकार भए पनि एमाले र कांग्रेस बाहेकको सरकार बनाउन चाहेको राजनीतिक वृत्तमा चर्चा छ । यसले एमाले प्रतिपक्षमा पुग्ने खतरा बढ्दा फेरि वर्तमान सरकारमा नै फर्किने गरी विभिन्न चरणमा संवाद जारी छ ।
एमालेले विगतमा सरकारमा सहभागी हुँदा तीनदलीय सत्ता गठबन्धनबीच भएको १५ बुँदे सहमति कार्यान्वयन र केही महिनापछि आफ्नो नेतृत्वमा सरकार बनाउने गरी कांग्रेससँगै संवाद गरिरहेका छन् । यद्यपि, अहिलेसम्म सहमति नजिक नपुगेको एमालेका एक सांसदले बताए ।
‘राजनीतिमा असम्भव भन्ने कुरा हुँदैन । यहाँ न कोही कसैको शत्रु हुन्छ, न मित्र । यसकारण असम्भव केही छैन,’ ती सांसदले भने, ‘विगतमा भएको १५ बुँदे सहमति अक्षरसः पालना नहुँदा हामी सरकारबाट निस्कियौं । यति त्यो सहमति कार्यान्वयन र पालपालै नेतृत्व भयो भने एमाले सरकारमा सहभागी हुनसक्छ । शीर्ष तहमा छलफल भइरहेको छ ।’
केन्द्रीय नेतृत्व तहमै कांग्रेस, एमाले र नेकपाबीच पनि छलफल भइरहेको छ । मंगलबार साँझ कांग्रेस सभापति गगन थापाले गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । ओली र थापाबीच समसामयिक राजनीतिक विषय तथा मधेश सरकारबारे विमर्श भएको बताइएको छ ।
कांग्रेस, एमाले र नेकपाबीच प्याकेजमा सहमति गरी यही सरकारलाई निरन्तरता दिने प्रयास भइरहेको स्रोतले जनाएको छ ।
शीर्ष तहमा छलफल गर्न मधेशका नेताहरूसमेत अहिले काठमाडौं केन्द्रित भएका छन् । मुख्यमन्त्री कृष्णप्रसाद यादव पनि आजै काठमाडौं पुगेका छन् । यादवले अहिलेसम्म आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना रहेको दाबी गरे ।
‘म पनि अहिले काठमाडौं आएको छु । केन्द्रीय नेतृत्व तहमा कुराकानी भइरहेको छ । अहिलेसम्मको कुराकानी सकरात्मक छ,’ उनले अनलाइनखबरसँग भने ।
नेकपाले सरकारबारे निर्णय गर्न पार्टीको शीर्ष तहमा छलफल गरिरहेको छ ।
हुन त एमालेले मधेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको थियो । तर अन्य दलहरूले एमालेको नेतृत्वमा सरकार बनाउन नचाहेको स्रोतले बताएको छ ।
यता, जसपाका तीन जना नेता पनि आफैं मधेशको मुख्यमन्त्री बन्ने दाउमा छन् । दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल र पूर्वमुख्यमन्त्री लालबाबु राउत पनि मुख्यमन्त्री बन्ने आकांक्षामा रहेको जसपाका एक सांसदले बताए ।
‘जसपाभित्र पनि नेतृत्व गर्ने विषयमा आआफ्नै दाउमा छन् । जसपाले सरकारको नेतृत्व गर्छ । नभए अर्को दलको नेतृत्वको सरकारमा जसपा जाँदैन,’ उनले भने ।
पछिल्लो राजनीतिक घटनाक्रमले एमाले पुनः वर्तमान सरकारमै फर्किने सम्भावना बढेको देखाउँछ । जसका कारण, मधेशमा वर्तमान सरकारले नै निरन्तरता पाउने विश्लेषण सुरु भएको छ । जसपा र जनमत प्रतिपक्षी बेन्चमा यथावत रहने सम्भावना पनि छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारको विश्वासको लागि ५४ सिट आवश्यक छ । अहिले मधेश प्रदेशसभामा सांसद संख्या १०३ छ । त्यसअनुसार सरकार बनाउनका लागि ५२ सिट चाहिन्छ ।
मधेश प्रदेशसभामा सबभन्दा ठूलो दल जसपा नेपालको २७ सिट, एमालेको २३, कांग्रेसको २२, नेकपाको १५, जनमतको १२ सिट छ । संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का एक(एक सांसद छन् ।








