आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्ने

काठमाडौं, कार्तिक २० गते ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।

तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा छ । उसले तीन खेल खेलेकोमा २ मा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा विराटनगर र तेस्रो खेलमा जनकपुरलाई हराउँदै दुई खेल जितेको थियो ।

सुदूरपश्चिम भने अंक तालिकाको छैटौं स्थानमा छ । चार खेल खेलेको उसले २ मा जित र २ मा हार बेहोरेको छ । सुदूरपश्चिमले पहिलो खेलमा चितवनलाई हराउँदै पहिलो जित निकालेको थियो भने दोस्रो खेलमा विराटनगरसँग पराजित भएको थियो । यसैगरी तेस्रो खेलमा पोखरालाई हराएको सुदूरपश्चिम आफ्रनो चौथो खेलमा लुम्बिनीसँग पराजित भएको थियो ।

यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच आमने–सामने हुनेछन् ।

तीन खेलमध्ये एकमा जित, एकमा हार र वर्षाका कारण एक खेल रद्द हुँदा बराबरी अंक बाडेर चितवन अंक तालिकाको सातौं स्थानमा छ । चितवन आफ्नो पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो भने लुम्बिनीसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तस्रो खेलमा भने उसले विराटनगरविरुद्ध पहिलो जित निकालेको थियो ।

पोखरा भने अंक तालिकाको पुछारमा छ । तीन खेलमा तीनै खेल हारेको पोखरा आजको खेलमा पहिलो जित निकाल्ने दाउमा छ । पोखरा पहिलो खेलमा लुम्बिनी, दोस्रो खेलमा जनकपुर र तेस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको