रैथाने उत्पादनको प्रवर्द्धन गर्न ठूला सहरमा मेला आयोजना गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौँ, कार्तिक २३ गते ।

सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला सहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् ।

थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले रैथाने मेला काठमाडौँमा मात्र नभई ठूला बजार भएका विभिन्न सहरहरूमा सरकारले नै आयोजना गर्नुपर्ने बताए।

मेलाले दुर्गम क्षेत्रका किसानलाई आफ्ना उत्पादन उपभोक्तासम्म पुर्‍याउने अवसर प्रदान गर्ने उनको भनाई छ । उनले रैथाने मेलालाई तिहार तथा चाडपर्वमा मात्रै सीमित नगरी शनिबार, आइतबार तथा अन्य बिदाका दिनमा समेत नियमित रूपमा सञ्चालन गर्नुपर्ने बताए ।

सरकारले नै सार्वजनिक बिदा तथा पर्वहरूको अवसरमा मेला आयोजना गर्न सके किसान तथा उत्पादकलाई थप लाभ पुग्ने उनको भनाई छ । उनले मेलाले काठमाडौँ उपत्यकामा परिचित उत्पादनभन्दा दुर्गम क्षेत्रका रैथाने उत्पादनबाट उपभोक्तालाई नयाँ स्वाद र जानकारी दिने अवसर दिएको बताए ।

उनले भने, ‘रैथाने मेलाहरूलाई सरकारले नै निरन्तर रूपमा गर्नुपर्छ । जनताका उत्पादनहरूलाई देशभर देखाउन सकियो भने कहाँबाट कस्तो चिजहरू आउँदो रहेछ, भन्ने पनि थाहा हुन्छ । काठमाडौँ भ्यालीमा बस्नुहुने नागरिकहरूलाई काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, धादिङतिरको चिजहरू त्यति नौलो हुँदैन । हामीले खरिद गरिरहेकै हुन्छ । तर अलि बाहिरतिरको चिज आउँदाखेरि उहाँहरूको लागि पनि खुसीको कुरा होला । दूरदराजमा राम्रा चिजहरू फल्दो रहेछ, किसानहरूले यस्तो उत्पादन गर्नुहुँदो रहेछ । हामीले त्यसलाई प्रमोसन गर्नुपर्छ भनेर अवेयर पनि हुन्छ । त्यही भएर मेलालाई राज्यले नै प्राथमिकतामा राखेर आयोजना गर्नुपर्छ । किसानको उत्पादनको प्रचारप्रसार सरकारले गर्नुपर्छ । कृषक आफैँमा उत्पादनमै खटिराखेको हुन्छ, त्यसकारणले सरकारको तर्फबाट खाद्य संस्थान, साल्ट ट्रेडिङ या अरू हाम्रा अर्गनाइजेसन, मिडियाले कृषकका उत्पादनलाई प्रचारप्रसार गर्नुपर्छ । मुख्य कुरा मेलालाई रेगुलर गर्नुपर्‍यो । कहिलेकाहीँ व्यापार राम्रो हुनसक्छ, कहिलेकाहीँ व्यापार कम हुन सक्छ, कहिलेकाहीँ धेरै स्टल आउन सक्छ, कहिले थोरै आउन सक्छ । तर सरकारको तर्फबाट यस्तो स्पेसहरू दिनुपर्छ । यसलाई हामीले काठमाडौँमा मात्रै होइन, मल्टिपल सहरहरूमा विस्तार गर्न आवश्यक छ । जहाँ सहरहरू छ, ठूलो बजारहरू छ, त्यो ठाउँमा हामीले सरकारको तर्फबाट पहल गर्नुपर्छ ।’

उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङलगायत सरकारी निकाय र सञ्चारमाध्यमले पनि किसानका उत्पादनलाई प्राथमिकताका साथ प्रचार गर्नुपर्नेमा जोड दिए। तिहार विशेष रैथाने मेलामा करिब २६ वटा स्टल रहेका छन् ।

मेलाको अवलोकन गरेका सभामुख अर्यालले व्यक्तिगत रूपमा करिब सात हजार रुपैयाँ बराबरका सामान खरिद गरेको जानकारी पनि दिए। मेलामा सहभागी स्टल सञ्चालकहरूले एक दिनमै ५५ हजार रुपैयाँसम्मको कारोबार भएको जानकारी दिएको उनको भनाई छ । न्यूज एजेन्सी नेपाल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको