झापा, मंसिर ७ गते ।
नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को आज संयुक्त रूपमा शिलान्यास गरिएको छ ।
भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल प्रविधिमार्फत रिमोट थिचेर परियोजनाको शुभारम्भ गरेका थिए ।
नेपाल र भारत सरकारबीचको ‘सरकार–सरकार’ (जीटुजी) सम्झौताअन्तर्गत भारत सरकारको शतप्रतिशत अनुदान तथा इन्डियन आयल कर्पोरेसन ९आइओसी० को प्राविधिक सहयोगमा यो परियोजना निर्माण हुने परियोजना प्रमुख सुरेन्द्र महतोले बताए ।
पाइपलाइन र टर्मिनल निर्माणका लागि करिब रु १२ अर्ब लागत अनुमान गरिएको छ । द्विपक्षीय सम्झौताअनुसार निर्माण सुरु भएको मितिले ५४ महिना ९साढे चार वर्ष०भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
उनका अनुसार कूल ४९ दशमलव ६ किलोमिटर लम्बाइ रहने यस पाइपलाइनको भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १४ दशमलव छ किलोमिटर खण्ड पर्नेछ ।
भारतको सिलिगुडीस्थित आईओसीको टर्मिनलबाट सुरु हुने पाइपलाइन मेची पुल नजिकैबाट नेपाल प्रवेश गरी झापाको मेचीनगर नगरपालिकाको वडा नं। ६, १०, ११ हुँदै मेचीनगर–१३, चारआलीस्थित प्रस्तावित टर्मिनलमा पुगेर टुङ्गिनेछ ।
द्विपक्षीय सहमतिअनुसार नेपाल आयल निगमले काँकरभिट्टादेखि चारआलीसम्मको पाइपलाइन मार्ग र भण्डारणस्थलको जग्गा व्यवस्थापन गरेको छ ।
सरकारले वि.सं. २०७४ मै चारआलीमा २३ बिघा तीन कट्ठा १३ धुर जग्गा व्यवस्थापन गरी फिल्ड कार्यालयसमेत सञ्चालनमा ल्याइसकेको परियोजना प्रमुख महतोले जानकारी दिए ।
निगमले पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र जग्गा व्यवस्थापनको प्रारम्भिक काम सम्पन्न गरिसकेकाले अब आईओसीले पाइपलाइन बिछ्याउने र भण्डारण गृह निर्माणको काम चाँडै थाल्ने जनाइएको छ ।
पाइपलाइन निर्माणमा आठ इञ्च व्यासको कार्बन स्टिल पाइपलाई जमिनमुनि कम्तीमा एक दशमलव दुई मिटर गहिराइमा गाडिनेछ । सुरक्षा र चुहावट नियन्त्रणका लागि अत्याधुनिक ‘स्काडा’ प्रणाली र फाइबर अप्टिक सेन्सिङ प्रविधि जडान गरिने उनले बताए ।
चारआलीमा निर्माण हुने अत्याधुनिक ग्रिनफिल्ड टर्मिनलको कुल भण्डारण क्षमता ३२ हजार ८०० किलोलिटर रहने परियोजनाको फिल्ड कार्यालयका प्रशासन प्रमुख मनिष न्यौपानेले बताए । जसमा ३२ हजार २०० किलोलिटर डिजेल र छ हजार ६०० किलोलिटर पेट्रोल भण्डारण गर्न सकिनेछ ।
टर्मिनलमा ‘स्मार्ट भर्टिकल ट्याङ्की’, एकैपटक इन्धन भर्न मिल्ने आठ ‘बे’ सहितको ट्रक लोडिङ सुविधा तथा दुई वटा अग्नि नियन्त्रण पानी–फोम ट्याङ्की प्रणाली जडान गरिने उनले जानकारी दिए ।
पाइपलाइन बिछ्याउने क्रममा मेची, निन्दा, हडिया र फुलबासाजस्ता नदीहरू पार गर्नुपर्ने भएकाले जलचर र नदीको पारिस्थितिक प्रणालीमा असर पर्न नदिन ‘होरिजन्टल डिरेक्सनल ड्रिलिङ’ (एचडीडी) प्रविधि अपनाइने उनको भनाइ छ । नदीको सतहभन्दा धेरै गहिराइबाट पाइप लगिने हुँदा नदीको प्राकृतिक बहावमा कुनै अवरोध नपुग्ने परियोजनाले जनाएको छ ।
टर्मिनल सञ्चालनका क्रममा निस्कने वाष्पलाई पुनः इन्धनमा रूपान्तरण गरी वायु प्रदूषण र इन्धन नोक्सानी कम गर्न ‘भेपर रिकभरी सिस्टम’ तथा तेल मिसिएको पानी प्रशोधन गर्न ‘आयल वाटर सेपरेटर’ जडान गरिने भएको छ ।
विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग यस पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सहमति भएको थियो ।
सोही सहमतिको कार्यान्वयन स्वरूप विसं २०८१ असोजमा नयाँदिल्लीमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसनका निर्देशक सेन्थिल कुमारबीच परियोजना निर्माणको औपचारिक सम्झौतामा हस्ताक्षर भएको थियो । एभरेष्ट न्यूज एजेन्सी








