एनपीएलको आगामी सिजनदेखि नै ‘होम एन्ड अवे’ सञ्चालन गर्ने बारे छलफल

काठमाडौं, मंसिर ९ गते ।

नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका आफ्नै घरेलु रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने विषयमा सरकारले छलफल अघि बढाएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार एनपीएलका आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधि र नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्कासँग यस विषयमा छलफल गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु मैदान निर्माण गरी प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेपछि सरकारले त्यसको कार्यान्वयनका लागि परामर्श थालेको हो ।

छलफलमा मन्त्री पोखरेलले एकैपटक आठवटा रङ्गशाला निर्माण गर्नुभन्दा चरणबद्ध रूपमा अघि बढ्नुपर्ने प्रस्ताव राखेका छन् । आगामी चौथो संस्करणदेखि नै दुईदेखि तीनवटा मैदानमा ‘होम एन्ड अवे’ प्रणालीको अभ्यास सुरु गर्ने र पाँचौँ तथा छैटौँ संस्करणसम्म आठवटै टोलीका घरेलु मैदान तयार पार्ने विषयमा छलफल भएको छ ।

मन्त्री पोखरेलले रङ्गशाला निर्माणका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल वा क्लबलाई दीर्घकालीन लिजमा दिएर निर्माणको जिम्मेवारी दिने विकल्पमा सरकार खुला रहेको बताएका छन् । क्लबहरूको स्वामित्व र अपनत्व भए निर्माण प्रक्रिया छिटो अघि बढ्न सक्ने उनको भनाइ थियो ।

छलफलमा अन्तर्राष्ट्रिय प्रसारण, उत्पादन तथा खेल समीक्षा प्रणाली (डीआरएस) का कारण एउटै मैदानमा प्रतियोगिता सञ्चालन गर्दा पनि लागत उच्च हुने विषय उठेको थियो । ‘होम एन्ड अवे’ प्रणालीमा जाँदा खर्च र आम्दानी बाँडफाँटको स्पष्ट व्यवस्था बनाएर अघि बढ्ने विषयमा समेत छलफल भएको छ ।

क्यानका सचिव पारस खड्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानका विद्यमान विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० परिमार्जन गरी कम लागतमा निर्माण सम्पन्न गर्न सकिने प्रस्ताव राखेका छन् । चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशालासहित यी तीन मैदान छोटो समयमै तयार पार्न सकिने उनको भनाइ थियो ।

फ्रेन्चाइज टोलीका प्रतिनिधिहरूले आगामी सिजनअघि त्रिवि क्रिकेट मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । मूलपानी र चितवनका रङ्गशालाको निर्माण छिटो सम्पन्न गरी बिहानका खेल मूलपानीमा र साँझका फ्लडलाइट खेल त्रिवि मैदानमा सञ्चालन गर्न सकिने सुझावसमेत दिएका छन् ।

क्लबका प्रतिनिधिहरूले सरकारले स्पष्ट नीतिगत व्यवस्था गरे निजी क्षेत्रबाट रङ्गशाला निर्माण तथा सञ्चालनमा लगानी भित्र्याउन आफूहरू तयार रहेको बताएका छन् । उनीहरूले खेलकुद पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र प्रायोजनसम्बन्धी नीतिगत जटिलता हटाउन पनि सरकारसँग आग्रह गरेका छन् ।

मन्त्री पोखरेलले एनपीएलका क्लबहरूसँगै सहकार्य गरेर पीपीपी मोडलमा रङ्गशाला निर्माण गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन् । प्रधानमन्त्रीको घोषणाअनुसार आवश्यक मोडालिटी तयार गरी छिट्टै काम सुरु गर्ने उनको भनाइ छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको