काठमाडौं, मंसिर १० गते ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।
प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ । नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ ।
अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गरेका ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा अन्य देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो । त्यसै अनुसन्धानपछि नयाँ शुल्क घोषणा गरिएको हो ।
नयाँ शुल्क चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतमा लागू हुने प्रस्ताव गरिएको बीबीसीले जनाएको छ ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई थप दिगो दिशामा अघि बढाउने दाबी गरेका छन् ।
उनले अमेरिकाका व्यापारिक साझेदारहरूले दशकौँदेखि उत्पादन, ज्याला तथा श्रम व्यवस्थापनलाई लक्षित गरी अपनाएका औद्योगिक रणनीति र बजारलाई प्रभावित पार्ने अभ्यासले अमेरिकी उत्पादन आधार कमजोर बनाउँदै व्यापार सन्तुलन आफ्ना पक्षमा पार्ने गरेको आरोप लगाए ।
भन्सार शुल्क भनेको विदेशबाट आयात हुने वस्तुमा लगाइने कर हो । सामान्यतया वस्तुको मूल्यको निश्चित प्रतिशतका आधारमा यस्तो कर निर्धारण गरिन्छ र विदेशबाट सामान आयात गर्ने व्यवसायीले सरकारलाई बुझाउँछन् ।
यद्यपि, ट्रम्पले केही देशसँग सहमति गरेका शुल्क सीमाका कारण प्रस्तावित शुल्कका केही दर प्रभावकारी रूपमा कम हुन सक्नेछन् । विभिन्न देशका लागि शुल्क दर पनि फरक–फरक हुनेछन् ।
अर्थशास्त्रीहरूले भने भन्सार शुल्कले मुद्रास्फीति बढाउन सक्ने र आयात लागत बढेपछि व्यवसायीले त्यसको भार उपभोक्तामाथि सार्दा वस्तुको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले यस्तो नीतिले विश्व व्यापारमा समेत संकुचन ल्याउन सक्ने बताएका छन् ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पटक–पटक भन्सार शुल्क लगाउने वा लगाउने चेतावनी दिँदै आएका छन् । अमेरिकी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले शुल्क नीति अघि बढाएको उनको दाबी छ ।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कमजोर नतिजा हासिल गरे पनि ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिएका छन् । अमेरिकाले अन्य देशबाट आयात गर्ने वस्तुको मूल्य र निर्यात गर्ने वस्तुको मूल्यबीचको अन्तर अर्थात् व्यापार घाटा घटाउने लक्ष्यसमेत ट्रम्पले राखेका छ । एभरेष्ट न्यूज एजेन्सी








