जनकपुरधाम, कार्तिक २८ गते ।
मधेशका पाँच जना सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेको सूचना जारी गरेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले प्रतिवाद गरेकी छन् ।
उनले सूचना जारी गरेर पदमुक्त भएका भनिएका पाँच जना प्रदेश सभा सदस्यको कारबाही बदर भएको जनाएकी छन् ।
लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवारको पद रिक्त भएको सूचना विहीबार जारी गरेका थिए ।
विहीबार नै उपसभामुख बबिता कुमारीले जारी गरेको सूचनामा उनीहरु कात्तिक २२ गतेको बैठकमा उपस्थित भएको हाजिरी र भिडियो रेकर्ड रहेको भन्दै उनीहरुमाथिको कारबाही बदर भएको उल्लेख छ ।
उनले जारी गरेको सूचनामा लेखिएको छ, ‘मधेश प्रदेश सभाको पछिल्लोपटक मिति २०८२र७र२२ गतेको विश्वासको मत सम्बन्धी हाजिरी प्रस्तावको बैठकमा उक्त सूचनामा उल्लेख भएका सम्पूर्ण माननीयज्यूहरु उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट देखिएकोले सो पद रिक्त सम्बन्धी सूचना बदर गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालामा जानकारी गराइन्छ ।’
सभामुखको निर्णय प्रतिशोध र आवेगमा आएको उपसभामुखको भनाइ छ ।








