कञ्चनपुर, फागुन २७ गते ।
शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा रु एक करोड ६७ लाख ४९ हजारको लागतमा तारजाली लगाउन थालिएको छ ।
जङ्गली जनावर अतिप्रभावित तीन वडामा ‘मेसवायर’ तारजाली लगाउन सुरु गरिएको हो ।
नगरपाालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नं. १ मा दुई हजार ९०० मिटर, वडा नं. ९ मा दुई हजार ५०० मिटर र वडा नं. १२ मा ४०० मिटर गरी पाँच हजार ८०० मिटर मेसवायर लगाउन सुरु गरिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्र नजिकका सामुदायिक वन क्षेत्राट स्थानीय किसानका खेतमा पस्ने जङ्गली हात्ती, चित्तल, बँदेल, नीलगाईलगायत जनावरलाई रोक्न मेसवायर लगाइएको हो ।
गत आर्थिक वर्षमा पनि सुदूरपश्चिम प्रदेश सरकारको अनुदान ७५ लाख र नगरपालिकाको ७५ लाख खर्चेर नगरपालिकाको वडा नं. ८ र १२ मा ५.८८ किलोमिटर मेसवायर लगाइएको थियो ।
मेसवायर लगाइएसँगै वन्यजन्तु प्रभावित क्षेत्रमा राति प्रकाशको व्यवस्था गर्न नगरपालिकाले रु ३५ लाखको लागतमा ३० स्थानमा सौर्यबत्ती जडान थालेको छ । रासस








