धनुषा, वैशाख १ गते ।
जिल्लाको औरही गाउँपालिका–२ परवाहामा स्थानीय लोक, संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले ‘परवाहा लोक संस्कृति उत्सव’ आयोजना गरिएको छ । युवा नाट्यकला परिषद् परवाहाको आयोजना तथा औरही गाउँपालिकाको सहयोगमा उत्सव सम्पन्न भएको हो ।
युवा नाट्यकला परिषद्का अध्यक्ष अनिल मिश्रले मौलिक लोक, संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको बताए उनका अनुसार सोमबारेदेखि सुर भई आजसम्म सञ्चालन भएको उक्त उत्सवमा मिथिलाञ्चलका विविध सांस्कृतिक विधा प्रस्तुत गरिएका थिए ।
उत्सवका क्रममा ‘सांस्कृतिक सङ्क्रमण’ तथा ‘सांस्कृतिक पुनरुत्थान कि पुनर्विचार’ विषयमा विचार विमर्शसमेत गरिएको थियो । त्यसैगरी विद्यापति गीत, संस्कार तथा व्यवहारसम्बन्धी गीत, गोधना र गाथा गायन प्रस्तुत गरिएको आयोजकले जनाएको छ । लोरिक, दिनभद्री, सलहेस नाचलगायत मिथिलाञ्चलका प्रख्यात ऋतुगीत, श्रमगीत तथा नारदी कीर्तनसमेत प्रस्तुत गरिएको थियो ।
अध्यक्ष मिश्रले आधुनिकताको प्रभावका कारण मौलिक संस्कृति ओझेलमा पर्न थालेकाले यसको संरक्षण अपरिहार्य भएको उल्लेख गरे । गाउँघरमा रहेका पुराना लोकगीत, नाच तथा परम्परागत ज्ञानको अभिलेखीकरण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यसहित उत्सव आयोजना गरिएको उनको भनाइ छ । उनले भने, “हाम्रो पहिचान हाम्रो संस्कृति हो । नयाँ पुस्तामा यसको महत्त्व क्रमशः हराउँदै गएकाले यसलाई जोगाउनु आवश्यक छ ।”
उत्सवमा स्थानीय कलाकारका साथै सांस्कृतिक अभियन्ता, अनुसन्धानकर्ता तथा सरोकार भएकाको उल्लेख्य सहभागिता थियो । मिथिला क्षेत्रको सांस्कृतिक विविधतालाई उजागर गर्दै परवाहा क्षेत्रलाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।








