काठमाडौं, असार १८ गते ।
वैदेशिक रोजगार विभागले आरके म्यानपावर ग्रुप प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कार्य गरेको भन्दै विभागले ३ लाख रूपैयाँ जरिवाना गर्दै सचेत गराएको छ ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ (३) अनुसार इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले व्यक्तिगत श्रम स्वीकृतिमार्फत कामदार पठाउन नपाउने स्पष्ट व्यवस्था रहेको जनाएको छ । सो कानुनी प्रावधानको कार्यान्वयनका लागि विभागले २०८२ चैत २७ गते सार्वजनिक सूचना जारी गरी सबै म्यानपावर कम्पनीलाई निर्देशन दिएको थियो ।
तर, अनुसन्धानका क्रममा आरके म्यानपावरले उक्त कानुनी व्यवस्था तथा विभागको निर्देशन उल्लंघन गरेको पुष्टि भएपछि विभागले कारवाही गरेको हो ।
विभागले वैदेशिक रोजगार ऐनको दफा ५४ बमोजिम कम्पनीलाई पहिलो पटकका लागि सचेत गराएको छ भने दफा ५२ अनुसार अधिकतम ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जनाएको छ ।
विभागले वैदेशिक रोजगारका नाममा व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग गरी हुने गैरकानुनी गतिविधि तथा सम्भावित ठगी नियन्त्रण गर्न कानुन उल्लंघन गर्ने म्यानपावर कम्पनीमाथि कडा निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।






