सिरहा, असार २४ गते ।
सिरहामा पाँच महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण मुख्यालयले सात करोड बढीको अवैध सामान बरामद गरेको छ ।
जिल्लाका सीमा क्षेत्रमा सञ्चालन गरेको सुरक्षा निगरानी तथा विशेष चेकजाँचका क्रममा सशस्त्रले भन्सार छलीका अवैध सामान बरामद गरेको हो ।
अवैध आयात–निर्यात तथा राजस्व चुहावट नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी र गस्ती बढाएको छ ।
सशस्त्र प्रहरी बल नं. ७ गण मुख्यालय सिरहाका गणपति (एसपी) सुमनजंग थापाका अनुसार २०८२ साल माघ महिनादेखि २०८३ साल जेठ महिनासम्म भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै तथा नेपालबाट भारततर्फ अवैध रूपमा ओसारपसार गरिँदै गरेका अन्दाजी ७ करोड ३ लाख ४ हजार ७ सय ८९ रुपैयाँ बराबरका विभिन्न सामान नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएका सामानमा सवारी साधन, किराना सामग्री, कस्मेटिक, पित्तल तथा अन्य भाँडावर्तन, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामग्री, हार्डवेयरका सामान, विभिन्न ब्रान्डका मदिरा, फलफूल, डिजेल तथा अन्य दैनिक उपभोग्य वस्तु रहेका छन् ।
नियन्त्रणमा लिइएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
एसपी थापाले खुला सीमा क्षेत्रलाई लक्षित गर्दै नियमित गस्ती, चेकजाँच तथा विशेष निगरानी अभियानलाई अझ प्रभावकारी बनाइएको बताए ।
उनका अनुसार राज्यको राजस्व संरक्षण, भन्सार छली नियन्त्रण तथा अवैध आयात–निर्यात रोक्न सशस्त्र प्रहरी सम्बन्धित निकायसँग समन्वय गरेर निरन्तर अभियान सञ्चालन गरिरहेको छ ।
उनले अवैध व्यापार तथा संगठित ओसारपसारमा संलग्न जोसुकैमाथि कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पार्दै पछिल्ला महिनामा बरामदको परिमाण बढ्नुले सीमा क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बन्दै गएको संकेत गरेको बताए ।
यसैबीच, सशस्त्र प्रहरीले पछिल्लो तीन दिनको अवधिमा मात्रै ३४ लाख ४० हजार ६०१ रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको जनाएको छ।
एसपी थापाका अनुसार असार २२ गते (सोमबार) जिल्लाका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी ओसारपसार भइरहेको अवस्थामा १४ लाख ३ हजार ३२६ रुपैयाँ बराबरको कस्मेटिक सामान, मदिरा, इलेक्ट्रोनिक सामग्री, डिजेल तथा अन्य वस्तु बरामद गरिएको थियो।
त्यसअघि असार १९ गते ११ लाख १० हजार ४२५ रुपैयाँ तथा असार १८ गते ९ लाख २६ हजार ८५० रुपैयाँ बराबरका विभिन्न सामान नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
पछिल्लो तीन दिनमा बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि खैरटोका भन्सार कार्यालय, माडर मा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका स्थानीय बासिन्दालाई भन्सार छली तथा अवैध ओसारपसारमा संलग्न नहुन आग्रह गर्दै यस्ता गतिविधिबारे जानकारी भए नजिकको सुरक्षा निकायलाई तत्काल सूचना दिन अनुरोध गरेको छ। सीमा सुरक्षा, राजस्व संरक्षण तथा अवैध व्यापार नियन्त्रणलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने एसपी थापाले बताए।






