फोहोर राष्ट्रिय आपतकालीन समस्या हो : सञ्चारमन्त्री

काठमाडौं, भदौ ५ गते ।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले फोहोरको समस्या राष्ट्रिय आपतकालीन भएको बताएका छन् । शुक्रबार पूर्वाधार बिकास मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन सम्बन्धि छलफलमा मन्त्री तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई संघीय वा स्थानीय निकायको सामान्य विवादका रूपमा नभई राष्ट्रिय आपतकालीन भएको बताए ।

‘यो संघ र स्थानीय सरकारको समस्या होइन, राष्ट्रिय आपतकालीन हो । क्याबिनेटबाट निकास निकाल्ने हो,’ उनले भने । मन्त्री तिमिल्सिनाले फोहोरमा राजनीति नगर्नसमेत आग्रह गरे । ‘फोहोरमा राजनीति नगरौं । दोषारोपण नगरौं । समस्या समाधान गर्न आयोजना गरिएको छलफल हो,’ उनले भने, ‘संघीय सरकारले के गर्नुपर्छ त्यसमा म प्रतिबद्धता जनाउछु ।’

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने भनिएको थियो । तर कुहिने र नकुहिने फोहोर छुट्टाएर व्यवस्थापन गर्न जग्गा संघ सरकारले नदिएको आरोप काठमडौं महानगरको छ । उक्त विषयमा मन्त्री तिमिल्सिनाले ऐन नियमावली संशोधन गरेर भएपनि मन्त्रिपरिषद्ले निर्णय गरेर समाधान गर्ने बताए ।

‘काठमाडौं महानगरले जग्गा प्राप्तिको निवेदन दिएको छ भनेपछि तत्काल भूमि व्यवस्था मन्त्रीसँग भेटघाट गरेँ । मालपोतको अधिकारीसँग छलफल गरियो । अहिले भएको ऐन कानुनले संघ सकारले स्थानीय सरकारलाई जग्गा दिन एउटा विषय मात्रमा मात्र मिल्ने सुनेको छु,’ मन्त्री तिमिल्सिनाले भने, ‘ऐन नियमावली संशोधन गरेर भएपनि क्याबिनेटबाट निकास निकाल्नु पर्छ ।’

हालको मौजुदा ऐन–कानुनले प्रशासनिक भवन निर्माणबाहेक अन्य प्रयोजनका लागि संघीय सरकारले स्थानीय सरकारलाई जग्गा उपलब्ध गराउन कानुनी कठिनाइ रहेको उनले बताए ।

बैठकमा उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले यस्तो बैठक आयोजना गर्दा फोहर व्यवस्थापनको इतिहास बारे बुझ्नुपर्ने बताए ।

महर्जनले उपत्यकाका मेयरलाई गाली गरेर मात्रै समस्याको समाधान नहुने धारणा राखेपछि रास्वपा सांसद आशिका तामाङले आपत्ति जनाएकी थिइन् । केहीबेर चर्काचर्कीसमेत परेको थियो ।

तामाङले उपत्यकाका स्थानीय तहका कारण फोहरमैला बञ्चरेडाडामा समस्या आएको र अवको छलफल बञ्चरेडाडामा हुने भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । सो क्रममा विवाद भएपछि सांसद तामाङ बैठक छाडेर बाहिरिएकी थिइन् ।

त्यसपछि बैठकमा सञ्चारमन्त्री तिमिल्सिनाले विवाद गरेर नभइ छलफल बाटै समस्याको समाधान निकाल्ने जनाएपछि बैठक अघि बढेको थियो । बैठकमा काठमाडौं महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोल र ललितपुरका प्रमुख महर्जनले फोहर मैला व्यवस्थापनका लागि आफुहरुले अघि सारेको योजनामा संघ सरकारले सहयोग नगरेको धारणा राखेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको