काठमाडौं, भदौ ९ गते ।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । जहाँ प्रधानमन्त्री बालेन शाहलाई ११ जना सांसदले प्रश्न सोध्ने भएका छन् ।
संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न सोध्दैछन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्ने भएका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम टिपाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न सोध्नेछन् ।
श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्नेछिन् ।
प्रश्न सोध्ने सांसदहरूले प्रश्न सोध्न चाहेको र के प्रश्न सोध्न चाहेको हो त्यो संसद् सचिवालयमा दर्ता गरिसकेका छन् ।
यसअघि भदौ १ गतेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।
जहाँ भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’
यसअनुसार उनले बुधबारका लागि कार्यक्रम तय गरेका हुन् ।
नियमावलीको दफा ५७ मा प्रत्यक्ष प्रशारण गर्न सकिने विषय छ । जसअनुसार प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारको माध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सकिने व्यवस्था छ ।
दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा तीन दिन अगावै सभामुखलाई गराउनुपर्नेछ ।
यसअनुसार सभामुख अर्यालले प्रधनमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए । त्यसअनुसार ११ जना सांसदले प्रश्न दर्ता गरेका हुन् ।
१५ जनासम्म सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न सक्ने थिए । तर ११ जनाको मात्रै प्रश्न दर्ता भएको हो ।
सभामुखले सबै दलबाट एकरएक जना रहने र बाँकीका हकमा दलीय उपस्थितिका आधारमा संख्या तय गरेका थिए । यसअनुसार रास्वपाका सात जना सांसदले प्रश्न सोध्न पाउँथे । तर तीन जनाले मात्रै प्रश्न दर्ता गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको दफा ५९ मा यस्ता प्रश्नमा सर्त लागु हुने व्यवस्था छ ।
जसअनुसार प्राप्त प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय सभामुखले गर्नेछन् । प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि सभामुखबाट निर्धारण भएबमोजिम हुनेछ ।
दफा ६० अनुसार यस परिच्छेदअन्तर्गत दिइएको जवाफको सम्बन्धमा सभामा कुनै छलफल गरिने छैन ।






