सहरमा फैलिँदै छ डेंगी, गाउँमा स्क्रब टाइफस

बागलुङ, भदौ ३१ गते ।

नेपालमै डेंगीको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ।

बागलुङमा डेंगी सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्।

जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रुपमा डेंगी फैलिएको छ।

बागलुङमा साउनयता मात्रै एक हजार ४०३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

जुन तथ्याङ्क नेपालमा नै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

बागलुङ जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा मात्रै एक हजार २२४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

सदरमुकाममा हाल घरैपिच्छे डेंगी सङ्क्रमण फैलिएपछि उच्च सतर्कता अपनाइएको छ।

दैनिकजसो डेंगी फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाइए पनि सङ्क्रमण बढिरहेको पाइएको छ।

गत वर्ष पाँच जनामा देखिएको स्क्रब टाइफसको सङ्क्रमण बागलुङमा यो वर्षको साउनयता मात्रै २८२ जनामा पुष्टि भएको छ।

डेंगी बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङ्कले देखाउँछ।

स्क्रब टाइफसको ५० प्रतिशत सङ्क्रमित गलकोट नगरपालिकामा देखिएको छ।

नेपालमै सबैभन्दा बढी डेंगी फैलिएको जिल्लाका रुपमा बागलुङ र पालिकाका रुपमा बागलुङ नगरपालिका रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए।

उनले बागलुङ डेंगीसहित स्क्रब टाइफसको उच्च जोखिममा रहेको बताए।

‘हामीले उच्च सतर्कता अपनाउँदै गए पनि सङ्क्रमणको दर उच्च रहेको छ भने धौलागिरि अस्पतालमा डेंगीका बिरामीको चाप उच्च रहेको छ,’ शर्माले भने, ‘बागलुङ बजारमा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेसँगै ग्यारेजका टायरसमेत जफत गर्न थालिएको छ।’

जिल्ला सदरमुकाममा दैनिक ३० देखि ५० जना सम्ममा डेंगी देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिए।

डेंगी नियन्त्रणमा तदारुकता नदेखाउने ग्यारेजबाट चार ट्याक्टर टायर जफत गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए। रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको