याङवरकका किसान अलैँचीप्रति आकर्षित, अन्नबाली विस्थापन

पाँचथर, असोज १३ गते ।

याङवरक गाउँपालिका वडा नं. १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्‍यानसम्म अलैँची लगाएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छाडे ।

सुकबहादुरका छिमेकी धनमाया बेघाको पनि करेसाबारीमा अलैँचीखेती छ । सबै ठाउँमा अलैँची नै लगाएको धनमाया बताउँछिन् । सोही वडाको बिरुवाका बालनन्द बेघाको पनि आँगनसम्मै अलैँचीखेती छ । बजारमा राम्रो मूल्य पाउँदा दुर्गम ग्रामीण भेगका किसानले मुख्य बालीका रुपमा अलैँचीलाई विस्तार गरिरहेका छन् ।

धान, मकै र कोदो फल्ने खेतबारी मासेर अलैँचीको खेती विस्तार गरेका सुकबहादुर बेघा अलैँचीलाई घर परिवारमा बढी माया गर्ने गरेको बताउँछन् । ‘हामीलाई पाल्ने र बचाउने नै यही हो । हामीले नगद पाउने बाटो अलैँची मात्रै हो’, बेघाले भने, ‘अलैँची फलाए मात्रै साहुले पनि पत्याउँछन् । यो खेती गर्नेले जे मागे पनि दिन्छन् ।’ अलैँची फलाउने कृषकले स्थानीय ग्रामीण बजारबाट वर्षैभरि सामग्री खरिद गर्दा बाँकी पाउने गरेको बेघाको भनाइ छ ।

अलैँचीबाट जीविकोपार्जन सहज भएपछि कृषकले मुख्य प्राथमिकता दिएका छन् । सुकबहादुर अलैँची नै कृषकको इज्जत भएको बताउँछन् । ‘हाम्रो इज्जत राख्ने अलैँची भयो’, पूर्णबहादुरले भने, ‘रच्छ्यान, घु¥यान, धानखेती हुने सबै ठाउँमा अलैँची लगाएका छौँ ।’

कृषक अलैँचीखेतीमा आकर्षित हुनुमा अलैँचीको मूल्य राम्रो हुनु पनि मुख्य कारण हो । गत वर्षदेखि अलैँची प्रतिमन (प्रति ४० किलोग्राम) ८० हजारभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । ‘प्रतिमन रु ८० हजारसम्म पाइयो भने त राम्रो हो । त्यसोहुँदा प्रतिकिलो रु दुई हजार बराबर पर्न जान्छ । त्यति रकम कुनै पनि अन्नबालीबाट प्राप्त हुँदैन’, सुकबहादुरले भने, ‘अलैँचीले राम्रो भाउ पाए हामीलाई फाइदा नै हुन्छ ।’

धनमाया बेघाले पनि खेतबारी मासेर अलैँची विस्तार गरेकी छन् । ‘अलैँचीको भाउ पनि राम्रै छ । हात मुख जोड्ने बाटो नै यही भएको छ’, उनले भनिन् ।

अविरल वर्षापछि गत जेठ ८ गते पहिरो झरेर धनमायाको खोलाखोल्सीमा रहेको अलैँचीको मुख्य बगान बगाइदियो । अहिलेसम्म यति ठूलो क्षति कहिल्यै भएको थिएन’, धनमायाले भनिन्, ‘खेतबारी मासेर लगाइएको अलैँची चाहिँ बाकी रह्यो । त्यसैबाट अलिक आम्दानी गर्न सकिएला कि ।’

बिरुवाकै पूर्णबहादुर बेघा धान, मकै, कोदोखेती गर्दा लागत पनि नउठ्ने भएकाले धेरै किसान अलैँचीतर्फ आकर्षित भएका छन् । सोही वडाको चाम्लिङडाँडाका रामकुमार राईको विसं २०८० असार र गत जेठमा पहिरो झरेर झण्डै ३० मन अलैँची फल्ने बारी बगाएको छ । अलैँची उत्पादन नभएपछि आयस्रोतको अन्य कुनै बाटो बाँकी नरहने राईको भनाइ छ । ‘यहाँका बासिन्दा अलैँचीकै कारण गाउँमा अडिएका हौँ । अन्यथा खान पनि नपुग्ने भएर सबै हिँडिसकिन्थ्यो होला’, राईले भने, ‘हाम्रो दैनिक जीवन नै अलैँचीमा आधारित भएको छ । याङवरक–१ मात्रै होइन जिल्लाका ४० बढी वडामा अलैँची उत्पादन हुने गरेको छ ।’

पाँचथरमा आर्थिक वर्ष २०८२/८३ मा कुल तीन हजार ३२६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यस्तै, कुल एक हजार ३९६.९२ मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरका कृषि प्रसार अधिकृत प्रदीप नेपालीले जानकारी दिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको