पाल्पा, असोज १३ गते ।
सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बर्तुङ्ग–राम्दी खण्ड अवरुद्ध भएको छ ।
मंगलबार बिहान माथागढी गाउँपालिका–१, चिदिपानीस्थित धेरैनीमा सडकको तल्लो भागमा पहिरो गएको सडक डिभिजन पाल्पाले जनाएको छ । पहिरो खसेपछि राजमार्गमा सवारी साधन सञ्चालनमा समस्या भएको हो ।
केही दिनअघि लगातार परेको अविरल वर्षाले तल्लो भागमा कटान गरेको र राजमार्गको आधा भाग भासिएकाले सवारी साधन सञ्चालनमा समस्या भएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए ।
हालका लागि साना सवारी पास गराए पनि ठूला सवारी संचालनमा समस्या देखिएको हो । बिहानैदेखि सवारी संचालनमा समस्या भएपछि पर्यटकीय सहर पोखरा र स्याङ्जा, पाल्पा, बुटवलसम्मका यात्राका लागि निस्किएका सवारी र यात्रु अलपत्र परेका छन् ।
मेसिन मगाएर सवारी पास गराउन पहल गरिने सडक डिभिजन कार्यालय पाल्पाले बताइएको छ ।






