बृहत् आँखा शिविर : २३० जनाको मोतीबिन्दुको अपरेसन

रौतहट, असोज २४ गते ।

ग्रामीण क्षेत्रका आँखाका बिरामीलाई लक्षित गरी पर्साका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको बृहत् आँखा शिविरबाट २३० जना लाभान्वित भएका छन्। शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीको आँखाको अपरेशन गरिएको हो।

नेपाल आँखा कार्यक्रम, सामुदायिक आँखा अस्पताल हेटौँडा र तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाको आयोजनामा तथा पटेर्वा सुगौली गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको थियो।

जगरनाथपुर, पोखरिया, ठोरी, जिराभवानी, सखुवा प्रसौनी र पटेर्वा सुगौली गाउँपालिकालगायतका क्षेत्रमा असोज १७ देखि २१ गतेसम्म मोतियाबिन्दु छनोट शिविर सञ्चालन गरिएको थियो। छनोटमा परेका बिरामीको असोज २२, २३ र २४ गते निचुटा स्वास्थ्य चौकीमा शल्यक्रिया गरिएको स्वास्थ्य चौकीका अधिकृत प्रमोद कर्णले जानकारी दिए।

शल्यक्रिया गरिएकामध्ये ५५ जनाको फेको प्रविधि र १७५ जनाको सिक्स प्रविधिबाट उपचार गरिएको थियो। नेपाल आँखा कार्यक्रमसँगै अस्ट्रेलियन एड र द फ्रेड होलोज फाउन्डेसनको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।

पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवका अनुसार शिविरले ग्रामीण क्षेत्रका आँखाका बिरामीलाई उपचारको पहुँचमा ल्याउन सहयोग गरेको छ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवाज हुसेन, वडाध्यक्ष बासु पजियार र फरमान मिया अंसारीलगायतको उपस्थिति थियो। उनीहरूले शल्यक्रिया गराएका बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

शिविरमा उपचारका क्रममा फेको प्रविधिबाट शल्यक्रिया गराउने बिरामीले प्रतिव्यक्ति ८ हजार २०० रुपैयाँ तिरेका छन्।
शिविरका इन्चार्ज तारकेस चौधरीका अनुसार फेको प्रविधिबाट एक जनाको शल्यक्रिया गर्दा १५ हजार ४०० रुपैयाँ खर्च लाग्नेमा ७ हजार २०० रुपैयाँ छुट दिइएको थियो। छुटपछि बिरामीबाट ८ हजार २०० रुपैयाँका दरले शुल्क लिइएको उनले बताए।

चौधरीका अनुसार शिविर सञ्चालनका लागि पटेर्वा सुगौली गाउँपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको थियो। अन्य स्थानीय तहबाट भने आर्थिक सहयोग प्राप्त नभएको उनको दाबी छ।

गाउँपालिकाले उपलब्ध गराएको रकम खाना, नास्ता, बसोबास र टेन्ट व्यवस्थापनमा खर्च गर्ने प्रयोजनका लागि रहेको उल्लेख गर्दै चौधरीले उक्त रकमको अन्य विषयमा आफ्नो थप सरोकार नरहेको बताए।

ग्रामीण क्षेत्रमा आँखासम्बन्धी उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरमा शल्यक्रियासँगै बिरामीलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ। न्यूज कारखाना

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको