बडादशैँमा घुम्नै पर्ने मधेशका ११ शक्तिपीठहरु, जहाँ हुन्छ देवीको जयकार

जनकपुरधाम, असोज २६ गते ।

बडादशैँ सुरु भएसँगै देशभरसहित मधेशका शक्तिपीठहरुमा अहिले दशनार्थी तथा भक्तजनहरुको चहलपहल बढेको छ । एकाबिहानैदेखि देवीको दर्शन, पूजाआजा र भाकल पूरा गर्न आउने श्रद्धालुको भीडले मन्दिर परिसरलाई भरिभराउ भएको छ ।

बिहानैदेखि कतै घण्टी, त कतै शंख त कतै धार्मिक गीतसंगीत तथा भजनकिर्तनसहितको सांस्कृतिक कार्यक्रम र सप्तशतीको पाठले गुञ्जयमान छन् जनकपुरधामसहित मधेश प्रदेशका शक्तिपीठहरु भक्तिमय बनेको छ ।

मिथिला संस्कृति, भोजपुरा र अवध क्षेत्र समेटिएका मधेश प्रदेश धार्मिक आस्था, ऐतिहासिक सम्पदा र लोकपरम्पराको अनुपम संगम हो । यहाँका शक्तिपीठहरू केवल पूजाआजा गर्ने स्थल मात्र होइनन्, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको विश्वास, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानका जीवन्त उदाहरण पनि हुन् ।

बडादशैँको नवरात्रमा देवी दुर्गाका विभिन्न स्वरूपको आराधना गरिने भएकाले मधेशका धनुषा, सिरहा, सप्तरी, बारा, पर्सालगायतका जिल्लाका शक्तिपीठहरू आस्था, शक्ति र सांस्कृतिक परम्पराको संगमले विशेष धार्मिक महत्व बोकेका छन् । मनवाञ्छित फल प्राप्ति, परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै यी शक्तिपीठहरुमा दैनिक हजारौको संख्यामा भक्तजन यहाँ पुग्छन् । त्यसैले, यस वर्षको वडादशैँलाई धार्मिक यात्रासँगै मधेशको संस्कृति र सम्पदा नजिकबाट बुझ्ने अवसरका रूपमा घुम्नैपर्ने आवश्यक छ । वडादशैंमा घुम्नैपर्ने यी हुन मधेशका प्रमुख शक्तिपीठहरु ।

१. जनकपुरधामको राजदेवी मन्दिर

बडादशैँ, विशेष गरी नवरात्र र विजयादशमीको समयमा मिथिलाका राजा जनकका कुलको रुपमा मानिएका जनकपुरधामका यी राजदेवी मन्दिरमा भक्तजनको उल्लेखनीय भीड लागेको छ । देवी दुर्गाको स्वरुप रहेका राजदेवी मन्दिर निकै शक्तिशाली देवीको रुपमा परिचित छन् । राममन्दिरसँगै टाँसिएर रहेका यी राजदेवी मन्दिरमा विजयादशमीको अष्टमीका दिन यहाँ १५ हजारभन्दा बढी बलि प्रदान हुने गर्दछन् ।

जनकपुरधाममा वैष्णव परम्परा र शक्ति उपासना सँगसँगै विकसित भएको देखिन्छ । जानकी मन्दिरले राम–सीताको आस्थालाई प्रतिनिधित्व गर्दा राजदेवी मन्दिरले भगवती तथा दुर्गा उपासनाको महत्वपूर्ण पक्षलाई प्रस्तुत गर्छ ।

विजयादशमी शुरु भएसँगै यहाँ दशनार्थीहरुको लाखौको संख्यामा भीड लाग्ने गरेका छन् । कपडाको पण्डालले प्रत्येक वर्ष स्थानीय महावीर युवा कमिटीले लाखौ रुपैया मन्दिरलाई दुल्हिन झै सजाउने गरेका छन् । यसपटक पनि मन्दिरलाई निकै सुशोभित ढंगले सजाइएको छ । अष्टमीका दिन त यहाँ ठूलै मेला लाग्ने गरेको छ । प्रत्येक कात्तिक र चैते दशैंमा दशमी अवधिभर ठूलो मेला लाग्ने गरेको छ ।

मन्दिरको स्थापना कहिले भएको हो भन्ने कुनै यकिन तिथिमिति नभएपनि राम मन्दिर स्थापना भएकै बेला करीब डेढ वर्षअघि भएको हुन सक्ने अनुमान गरिएको छ । राजदेवी मन्दिरसँग जोडिएको अर्को चर्चित विषय वडादशैँका बेला महिलाको मन्दिरभित्र प्रवेश निषेध हो । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई मन्दिरको भित्री भागमा प्रवेश गर्न नदिई झ्यालमै प्रतिकात्मक स्वरुपलाई दर्शन तथा  पूजापाठको व्यवस्था गरिँदै आएको छ । मासिक चक्रियको बेला महिला अशुद्ध भएको कारण त्यसको स्पर्शले देवी रिसाउने जनविश्वासले प्रवेश निषेध गरिएको स्थानीय मान्यता छ ।

२. सप्तरीको छिन्नमस्ता भगवती

हिन्दु धार्मिक परम्परा तथा प्रचलित ऐतिहासिक विवरण अनुसार यस मन्दिरको स्थापना १३ औँ शताब्दीतिर सिम्रौनगढका कर्णाटवंशी राजा शक्रसिंहदेवले गरेको मानिन्छ । देवीलाई सुरुमा शक्रेश्वरी वा सखडेश्वरीका रूपमा पुकारिदैँ आएकोमा पछि सखडा भगवती नामले प्रचलित भएको बताइन्छ ।

मूर्तिको शिर काटिएको वा शिरविहीन रहेको जनविश्वासका कारण देवीलाई छिन्नमस्ता देवी भनिएको स्थानीय  मान्यता छ । यस नामकरणसँग दिल्लीका सुल्तान गयासुद्दिन तुगलकको सेनाको आक्रमण सम्बन्धी कथासमेत जोडिएको छ ।

दशमहाविद्यामध्ये एकः हिन्दू तान्त्रिक परम्परामा छिन्नमस्ता दशमहाविद्यामध्ये एक मानिन्छिन् । उनको स्वरूपले आत्मत्याग, शक्ति, जीवन–मृत्युको चक्र र अहङ्कारमाथिको विजयलाई प्रतीकात्मक रूपमा लिने गरिएको छ । नेपाल र भारतको श्रद्धालुले भरिने यो मन्दिर अन्तराष्ट्रिय शक्तिपीठको रुपमा परिचित छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सखडामा यो मन्दिर अवस्थित छ । जिल्लाको सदरमुकाम राजविराजबाट ११ किलोमीटर टाढा दक्षिणतर्फ छन् यी मन्दिर । छिन्नमस्ता देवीको यस स्थानलाई तान्त्रिक साधनाको केन्द्रको रुपमा पनि लिने गरिएको छ । यहाँ परम्परागत तान्त्रिक विधिअनुसार प्रत्येक विजयादशमीमा नवरात्रा अवधिभर पूजा गर्ने गरिएको विश्वास छ ।

यस मन्दिर परिसरमा छिन्नमस्तासँगै दक्षिणकाली, महिषासुरमर्दिनी, चामुण्डा र भैरवीका स्वरूपलाई जोडेर पञ्चभगिनीको धार्मिक मान्यता प्रचलित छ । बडादशैँ, महाअष्टमी र चैते दशैँका बेला यहाँ विशेष पूजा, मेला र श्रद्धालुको भीड लाग्छ । यस मन्दिरको सबैभन्दा ठूलो विशेषता भनेको मिथिला क्षेत्रको मध्यकालीन राजवंशीय इतिहास, तान्त्रिक परम्परा र जनआस्थाको एकै ठाउँमा सङ्गम हुनु हो ।

३. बाराको गढीमाई भगवती मन्दिर

बाराको गढीमाई शक्तिपीठ पशुबलिको परम्पराले जोडिएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरस्थित यो गढीमाईलाई पनि निकै शक्तिशाली देवीको रुपमा परिचित छन् । बाराको गढीमाई मन्दिर मधेश प्रदेश मात्र नभई नेपाल भारतकै चर्चित देवीस्थल मध्ये एक हुन् । गढीमाई मन्दिर अन्तराष्ट्रिय पहिचान बनाइसकेका शक्तिपीठ हुन् ।

यसको प्रमुख विशेषता भनेको प्रत्येक पाँच वर्षमा आयोजना हुने बलिप्रदान हो । लाखौको संख्यामा यहाँ बलिप्रदान हुने गर्छ । प्रत्येक पांच वर्षमा मंसिर महिना हुने बलिप्रदान अब २०२९ सालमा आयोजना हुनेछ । पञ्चवर्षिय कार्यक्रम बाहेक प्रत्येक विजयादशमीमा यहाँ ठूलो मेला लाग्नेगर्छ । अन्य शक्तिपीठ जस्तै गढीमाईमा आस्था र विश्वासका पूजा गर्ने भक्तजनहरुको भीड लाग्ने गर्छन ।

४. सप्तरीको कंकालिनी भगवती मन्दिर 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहस्थित अवस्थित छन् कंकालिनी भगवती मन्दिर । सप्तरीको अर्को प्रसिद्ध शक्तिस्थल हो । भारदह क्षेत्रमा रहेको यस मन्दिरमा सप्तरीसहित धनुषा, महोत्तरी, मोरंग, सुनसरी, सिरहा र सीमावर्ती भारतीय क्षेत्रबाट श्रद्धालु आउने गर्छन् । बडादशैँका बेला यहाँ निकै बढी चहलपहल हुन्छ ।

स्थानीय जनश्रुतिअनुसार भारदहमा बस्ती विस्तार वा जमिन खन्ने क्रममा दुर्गास्वरूपको मूर्ति भेटिएको र त्यसपछि देवीको पूजा सुरु भएको बताइन्छ । यो मन्दिरको उत्पत्तिबारे प्रचलित लोकविश्वास होस यसलाई निश्चित ऐतिहासिक तिथि मिति कतै उल्लेख नभएकाले सदियौंदेखिको रहेको भन्ने जनविश्वास छ ।

दशैँको विशेष पूजा नवरात्र तथा दशैँमा विशेष पूजा र बलि प्रदान परम्परा पनि छन् । यहाँपनि हजारौको संख्यामा बोका, राँगा र परेवाको बलिप्रदान दिने गरिएको । भाकल गरेका भक्तजनहरुले बलिप्रदान दिने गरेका छन् । पारिवारिक कल्याण, सुख समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ भक्तजन यहाँ पुग्छन् ।

५. सप्तरीको राजदेवी भगवती मन्दिर 

सप्तरीको प्रमुख शक्तिपीठहरु मध्ये जिल्लाको सदरमुकाम राजविराजस्थित राजदेवी भगवती मन्दिर पनि एक हुन् । जनकपुरधामको राजदेवी मन्दिरभन्दा फरक, सप्तरीको राजविराजमा पनि राजदेवी भगवतीको प्रसिद्ध मन्दिर छन् । राजविराजको राजदेवी मन्दिरमा बडादशैँका बेला विशेष पूजा हुने र नेपाल तथा भारतका श्रद्धालु आउने गरेको छ । मन्दिरको स्थापत्यमा प्यागोडा शैली उल्लेख गरिएको छ । यस मन्दिरको महत्व मुख्यतः स्थानीय शक्ति उपासना, दशैँको धार्मिक परम्परा र राजविराज क्षेत्रको सांस्कृतिक जीवनसँग सम्बन्धित छ । यसको स्थापना मिति तथा प्राचीन इतिहासबारे विस्तृत विवरण नभएकाले यस मन्दिरलाई सदियौंदेखिको रहेको भन्ने जनविश्वास छ ।

६. पर्सा, वीरगञ्जको गहवामाई मन्दिर 

पर्साको विरगञ्जस्थित गहवामाई मन्दिर अन्तराष्ट्रिय रुपमा प्रसिद्ध देशकै प्रमुख शक्तिपीठमध्ये एक हुन् । पर्सा क्षेत्रको धार्मिक पहिचानमा यस मन्दिरले ठूलो महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । नवरात्र र दशैँमा देवी दुर्गाको आराधना, विशेष पूजा तथा धार्मिक जमघट यहाँका मुख्य गतिविधि हुन् । दशैंमा लाखौको संख्यामा भक्तजनहरुको भीड लाग्ने गरेको छ । वीरगञ्जको व्यस्त सहरी जीवनबीच मन्दिरले धार्मिक परम्पराको निरन्तरता कायम राखेको छ । गहवामाई मन्दिरलाई सप्तरीको छिन्नमस्ता वा बाराको गढीमाईसँगै मधेशका महत्वपूर्ण भगवतीस्थलमध्ये एक हुन् ।

७. महोत्तरीको सोनासती महारानी मन्दिर 

महोत्तरीको औरही नगरपालिका–८ भोइल गाउँस्थित सोनासती महारानी मन्दिरपनि मधेश प्रदेशका प्रमुख शक्तिपीठ मध्ये एक हुन् । यसलाई सोनामाई मन्दिर पनि भनिन्छ । मिथिला क्षेत्रका साथै भारतको बिहारबाट समेत हजारौको संख्यामा श्रद्धालु यहाँ आउने गर्छन् । यस शक्तिपीठको मुख्य विशेषता चाहिँ दशैँको भूतमेला हो  । बडादशैँको षष्ठीदेखि दशमीसम्म यहाँ परम्परागत भूतमेला लाग्ने गर्छ । ती भूत मेलाले अन्तराष्ट्रियस्तरमै छुटै पहिचान बनाएका छन् । यस मन्दिरलाई तन्त्रमन्त्रले गर्दा सिद्धपिठको रुपमा लिने गरिन्छ ।

भूतप्रेत, तन्त्रमन्त्र तथा नकारात्मक प्रभावबाट मुक्ति पाइने जनविश्वासका कारण भक्तजन यहाँ पुग्छन् । सन्तान प्राप्ति, पारिवारिक सुख र संकट निवारणको कामना गर्दै पूजा गर्ने परम्परा छ । सोनासती महारानीको मूर्ति स्थापना हुनुअघि कहचरिया स्थानको पुरानो सिसौको रूखसँग देवीको बासस्थानसम्बन्धी जनश्रुति जोडिएको छ ।

८. सर्लाहीको चमेलीमाई मन्दिर

सर्लाही जिल्लाको सलेमपुरस्थित चमेलीमाई मन्दिर पनि प्रदेशका प्रमुख शक्तिपीठमध्ये पर्दछन् । यहाँ नेपालका विभिन्न भाग तथा भारतबाट समेत श्रद्धालु दर्शनका लागि आउने गरेको विवरण पाइन्छ । देवी चमेलीमाईलाई शक्ति स्वरूपा तथा भक्तजनको कल्याण गर्ने देवीका रूपमा पूजा गरिन्छ । नवरात्र र दशैँको समयमा विशेष पूजापाठ हुने भएकाले यस क्षेत्रको धार्मिक चहलपहल बढ्छ । स्थानीय जनआस्था र परम्पराले मन्दिरलाई सामुदायिक धार्मिक पहिचानसँग जोडिएको छ ।

९. रौतहटको दुर्गा भगवती मन्दिर 

रौतहटको दुर्गा भगवतीपुर गाउँपालिको मत्सरी गाउँस्थित यो दुर्गा मन्दिर यस क्षेत्रको महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थल हो । रौतहटको ऐतिहासिक दुर्गा मन्दिरलाई प्रदेश प्रमुख धार्मिक स्थलमध्ये उल्लेख गरिएको छ । यहाँ पनि दशैँमा ठूलो मेला गरेको छ । दुर्गा उपासनाको केन्द्रको रुपमा पनि यस मन्दिरलाई लिने गरिन्छ । यहाँ देवी दुर्गालाई शक्ति, सुरक्षा र कल्याणकी अधिष्ठात्रीका रूपमा पूजा गरिन्छ । नवरात्रको विशेषताः घटस्थापनादेखि महानवमीसम्म पूजापाठ, धार्मिक अनुष्ठान र श्रद्धालुको हजारौको संख्यामा आवागमन हुन्छ । यस मन्दिरको स्थापना विक्रम संवत् १९८४ अर्थात् सन् १९२७ मा भएको उल्लेख छ ।

१०. सिरहाको दुर्गा मन्दिर 

सिरहाको सदरमुकाम लहानस्थित यो दुर्गा मन्दिर निकै शक्तिशाली आस्थाको केन्द्र रहेको छ । लहानस्थित दुर्गा मन्दिर सिरहा जिल्लाको नवरात्रका बेला विशेष चहलपहल हुने देवीस्थलमध्ये एक हो । मधेशका प्रमुख शक्तिपीठबारे प्रकाशित विवरणमा पनि यस मन्दिरलाई उल्लेख गरिएको छ। नवरात्रमा नौ दिनसम्म देवी दुर्गाको आराधना गर्ने परम्परा छ । दशैँका अवसरमा विशेष पूजा, प्रसाद र हजारौको संख्यामा भक्तजनहरुको जमघट हुन्छ ।

११. सप्तरीको चण्डी भगवती मन्दिर

सप्तरीको राजविराजस्थित चण्डी भगवती मन्दिर पनि देशकै प्रमुख देवीस्थल मध्ये एक हुन् । राक्षसहरुलाई बध गर्न माता भगवतीले विभिन्न रुप लिएका मध्ये एक हुन् । महिषासुर, चण्ड–मुण्ड, र शुम्भ–निशुम्भ जस्ता शक्तिशाली राक्षसहरूलाई वध गर्नका लागि ब्रह्मा, विष्णु, र शिव लगायत सम्पूर्ण देवहरूको शरीरबाट निस्किएको तेज (ऊर्जा) मिलेर चण्डी देवीको प्रादुर्भाव भएको हो । चण्ड–मुण्डकोसंहारको क्रममा उनले ‘चण्ड’ र मुण्ड’ नामक महाभयानक राक्षसहरूको वध गरेकी हुनाले उनलाई चामुण्डा वा चण्डी भनिएको हो । दुर्गा सप्तशतीमा चण्डीपाठ गरिन्छ । चण्डीलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको एकीकृत रूप मानिएको छ ।

यसलाई सप्तरीको राजदेवी मन्दिरभन्दा अलग पहिचान गर्नुपर्छ । मन्दिरमा चण्डी भगवतीको पूजा हुन्छ र बडादशैँमा विशेष धार्मिक गतिविधि हुने गर्छ । दशैँमा विशेष पूजापाठ र भक्तजनको भीड लाग्छ । मधेश प्रदेशका अन्य शक्तिपीठहरुमा रौतहटको गौरस्थित राजदेवी मन्दिर, सप्तरीको राजविराजस्थित वैष्णवी काली मन्दिर, सप्तरीकै राजविराजस्थित बागेश्वरी मन्दिर, पर्साको वीरगञ्जस्थित बिरतामाई मन्दिर, सप्तरीको पाटोस्थित डोक्नश्वर मन्दिर रहेका छन् । न्यूज कारखाना

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको