काठमाडौं, कार्तिक २३ गते ।
तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै आफ्नो हारको सिलसिला तोडेको हो।
पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अलआउट भयो । पवन सर्राफले ३२, अरिफुल इस्लाम २४, दीपक डुम्रेले २२ तथा सोमपाल कामीले २१ रन जोडे ।
कर्णालीको इनिङ्स ध्वस्त पार्न पोखराका मेहदी हसनले तीन तथा धनन्जय लक्षण, विपिन खत्री र कुशल भुर्तेलले दुई–दुई विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रन जोड्यो ।
यो जारी प्रतियोगिताकै उच्च स्कोर हो भने एनपीएलमा दोस्रो उच्च हो । गतवर्ष विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो ।
ओपनिङ ब्याट्सम्यान युवराज सामराले शतक प्रहार गर्दै १०२ रनको योगदान दिए । जारी प्रतियोगितामा पहिलो शतक सामराकै नाममा रह्यो । ४८ बल खेलेका उनले १० चौका र ६ छक्का प्रहार गरे ।
यस्तै, कुशल भुर्तेलले रनको अर्धशतकीय इनिङ्स खेले । ३९ बल खेलेका उनले ७ छक्का प्रहार गरे । भुर्तेलले १० औं ओभरमा नन्दन यादवबाट जीवनदान पाएका थिए । आफैंले गरेको बलिङमा नन्दनले उनलाई आउट पार्ने मौका गुमाए । उनले क्याच मिस गरे ।
कप्तान चमिका करुणारत्नेले विष्फोटक ब्याटिङ गर्दै नटआउट ३५ रन जोडे । ११ बल खेलेका उनले ३–३ छक्का र चौका प्रहार गरे ।
बलिङतर्फ कर्णालीका सोमपाल कामीले दुई तथा मार्क वाटले एक विकेट लिए ।
कर्णालीले ५ खेलमा दुई खेल जित्दा ३ खेलमा हार ब्यहोरेको छ । कर्णालीको यो लगातार तेस्रो हार हो ।
पहिलो जितको स्वाद चाखेको पोखरा २ अंकका साथ तालिकाको पुछारमा छ ।








