अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस

काठमाडौं, मंसिर ८ गते ।

भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सञ्चालन हुने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।

सोमबार भारतको नयाँदिल्लीबाट प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए। उद्घाटनपछि सोमबार दिउँसो १२ः३० बजे अयोध्याधामबाट यात्रा सुरु गरेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम पुगेको हो।

रेल जनकपुरधाम आइपुग्दा स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसनमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकी प्रस्तुत गरिएको थियो। रेलमा सवार यात्रु र भारतीय प्रतिनिधिमण्डलका सदस्यहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव तथा संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका थिए।

करिब ६०४ किलोमिटर दूरी तय गर्ने यो रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामलाई जोड्नेछ। यात्राका क्रममा रेलले मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिँदै यात्रा गर्नेछ।

भारत र नेपालबीच धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको यो रेल सेवाले विशेषगरी अयोध्या र जनकपुरधामबीचको आवागमनलाई सहज बनाउने विश्वास गरिएको छ। एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको