काठमाडौं, मंसिर ११ गते ।
ललितपुरमा डेरामा कोही नभएको मौका छोपी नगद तथा गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरूलाई चोरी भएको २४ घण्टाभित्रै चोरीका सामानसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ सुन्धाराका ३६ वर्षीय प्रवेश मुनि शाक्य, ललितपुर महानगरपालिका–७ दुपाटका ३७ वर्षीय अमित महर्जन र काभ्रेको नमोबुद्ध नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–७ ग्वार्को बस्ने २९ वर्षीय गोविन्द लामा छन्।
प्रहरीका अनुसार बाँकेको कोहलपुर नगरपालिका–१० घर भई ललितपुर महानगरपालिका–१५ भेल्पा मन्दिर नजिक डेरा गरी बस्ने २६ वर्षीय मनिष श्रेष्ठको कोठामा चोरी भएको थियो।
गत मंसिर ९ गते राति कोठामा कोही नभएको मौका छोपी ढोकाको भित्री ताल्चा फुटाएर उनीहरू भित्र पसेका थिए। उनीहरूले नगद, सुनचाँदीका गरगहना र अन्य सामान चोरी गरेका थिए।
घटनाबारे सूचना पाएलगत्तै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा चोरीमा संलग्न तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरी सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूबाट एक लाख ८५ हजार ६२० रुपैयाँ नगद, सुन तथा सुनका औँठी, टप, रिङ, बाला, तिलहरी, हारलगायतका गरगहना बरामद गरेको छ।
त्यस्तै चाँदीका गहना, दियो, मोतीको माला, चार थान मोबाइल, दुई थान घडी र दुई थान खाली पर्स पनि बरामद भएको छ।
पक्राउ परेका तीनै जनालाई चोरी कसुरमा अनुसन्धान गर्न ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।








