राजविराज, असार १२ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सामुदायिक विद्यालयमा पठनपाठन रोकी गाउँपालिका अधिवेशन गरेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिकाको वडा नम्बर ५ कट्टीस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा बिहीबार अधिवेशन सञ्चालन गराएको हो । अधिवेशनको निर्वाचन तालिकाअनुसार बिहान ९ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो । त्यसपछि विद्यालय बन्द गरेर बालबालिकालाई घर फर्काएको हो । कक्षा १ देखि ५ सम्म पठनपाठन हुने उक्त विद्यालयका विद्यार्थीलाई घर फर्काइदिँदा पठनपाठन प्रभावित भएको छ ।
विद्यालयकी प्रधानाध्यापक बबिताकुमारी यादवले जनप्रतिनिधिको निर्देशन मान्नुपर्ने बाध्यताले विद्यालयको समयअघि नै बिदा दिएको बताइन् । ‘विद्यालयमा अधिवेशन गर्ने विषयमा वडाध्यक्षज्यूले भनेपछि करिब १० बजेतिर बिदा दिएकी छु,’ उनले भनिन्, ‘जनप्रतिनिधिको कुरा मान्नुपर्ने हाम्रो बाध्यता हो, म पनि विवश छु । नत्र हामीले जहिले १२ बजेसम्म पढाएका छौं ।’ उनकाअनुसार विद्यालय समयअघि नै बिदा दिँदा छात्रवृत्ति वितरण कार्यक्रम पनि आंशिक रुपमा प्रभावित भएको छ ।
जसपा नेपालबाट निर्वाचित वडाध्यक्ष जिवछ मण्डलले विद्यालयमा बिदा भएपछि अधिवेशन गर्ने तयार गरिरहँदा पनि भुलवस विद्यालय समयमा हुन गएको प्रतिक्रिया दिए । विद्यालय बन्द गराएर चलिरहेको अधिवेशमा गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव पनि सहभागी छन् । उनी पनि जसपा नेपालबाटै निर्वाचित भएका हुन् ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामेन्द्र यादवले विद्यालय समयमा अधिवेशन गर्न लागेको विषय जानकारीमा नरहेको बताए ।








