काठमाडौं, असार १४ गते ।
सभामुख देवराज घिमिरेले संसद बैठकअघि प्रमुख दलका प्रमुख सचेतकसँग छलफल शुरु गरेका छन् । उनले सत्तापक्ष र प्रतिपक्षी दलका मुख्य सचेतकहरूसँग संसद्को अवरोधका बारेमा छलफल गरिरहेका छन् ।
आजको प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विदेश भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची रहेको भएपनि रास्वपाले आफ्नो विरोध जारी राख्ने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको सांसद हरि ढकालले जानकारी दिएका छन् ।
सरकारले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेपनि त्यस समितिलाई रास्वपाले अस्वीकार गर्दै आएको छ ।








