पहिराले भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

स्याङ्जा, असार २५ गते ।

स्याङ्जा र दक्षिण पर्वतलाई जोड्ने भुम्रे–हातेमालोचोक सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका–१४ डुम्रेभञ्ज्याङ नजिकै सडकमाथिबाट ढुङ्गासहित आएको पहिरोले सडक अवरुद्ध भएको वालिङ १४ का वडाध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिए ।

पहिरोका कारण उक्त सडक भएर यात्रा गर्ने यात्रुहरु अलपत्र परेका छन् । वर्षा भइरहेको र सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्नेक्रम निरन्तर भइरहेको छ । सडक खुलाउनका लागि डोजर मगाइएको उनले बताए ।

सडक खुलाउन गर्न केही समय लाग्ने भएकाले तत्काललाई विकल्पको रुपमा डुम्रेभञ्ज्याङ–ढिकीडाँडा–तमादी सडक प्रयोग गर्न पनि उनले सुझाव दिएको छ । भुम्रे–हातेमालोचोक सडकको यस ठाउँमा विशेष गरी वर्षाका समयमा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

दक्षिण पर्वतलाई सिद्धार्थ राजमार्गसँग जोड्ने सडकको रुपमा रहेको भुम्रे–हातेमालोचोक सडकमा दैनिक सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन हुने गरेका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको