मधेस सरकारले गर्‍यो प्रदेशलाई घोषणा सुख्खाग्रस्त क्षेत्र

पब्लिक सन्देश 
गौशाला, असार २६ गते ।

मधेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

यसवर्ष वर्षा नहुँदा धान रोपाई प्रभावित भएकाले मधेस सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको मुख्यमन्त्री सतिश सिंहका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिए ।

उनका अनुसार बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।

यस्तै, वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी सङ्कट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय बैठकले गरेको छ । खानेपानी सङ्कट समाधानमा आवश्यक सहयोग गर्न सङ्घीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्करसहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको