सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

वीरगञ्ज, साउन २ गते ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले गत आर्थिक वर्षमा ४० करोड ९१ लाख ९७ हजार तीन सय ७७ मूल्य पर्ने भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले आव २०८०÷८१ को तुलनामा गत आव भरिमा छ करोड ५४ लाख ६२ हजार ९३ मूल्य पर्ने भन्सार छलीका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमालले अघिल्लो आवको तुलनामा गत आवमा भन्सार छली गरेर भित्र्याइने समानको बरामद बढी भएको बताउँदै सिमानाकामा सुरक्षासर्तकता बढाएसँगै भन्सार छलीका सामान बढी बरामद भएका जानकारी दिए ।

“आव २०८०÷८१ मा १४ करोड ९९ लाख पाँच हजार पाँच सय २८ मूल्य बराबरका भन्सार छली गरेर भित्र्याइएका अवैध समान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएका थियौँ”, उनले भने, “आव २०८१÷८२ मा भने २८ करोड ९२ लाख ५० हजार एक सय ९९ मूल्य पर्ने भन्सार छलीका सामान वीरगञ्ज भन्सारमा दाखिला गरेका छौँ ।”

सशस्त्र प्रहरी पर्साले गत आव भरिमा ११ करोड ९९ लाख ४७ हजार एक सय ७८ मूल्य पर्ने बिलबीजक नभएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ ।

गणपति धिमालले गत आवमा सशस्त्र प्रहरीले भन्सार छली गरेर सामान भित्र्याउनेहरूको सुक्ष्म निगरानी गरेर भन्सार कार्यालयसँगको सहकार्यमा शङ्कास्पद गोदाममा नियमित अनुगमन गरेकाले छलीका सामान बरामद हुने क्रम बढेको जानकारी दिए । पछिल्लो समय यहाँका सीमानाकामा सिसि क्यामेरा, तालिम प्राप्त कुकुर परिचालन गरी नियमित जाँच गर्दै आएकाले पनि अवैध सामानको बरामद हुने क्रम बढेको सशस्त्र प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको