पब्लिक सन्देश
गौशाला, साउन २ गते ।
मधेश प्रदेशका ८ जिल्लामा सुक्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययन टोली पठाउने भएको छ ।
शुक्रबार कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रालय र मातहतका कर्मचारीसँग छलफल गरी तुरुन्तै ती क्षेत्रमा टोली पठाउन निर्देशन दिएका हुन् । टोली आइतबार उक्त क्षेत्र पुग्ने छ ।
हालको अवस्थामा समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्यन गर्न कृषि प्राविधिक टोली पठाउने निर्णय भएको हो ।
मन्त्री अधिकारीको निर्देशन अनुसार प्रत्येक जिल्लामा केन्द्रबाट २–२ जनाको दरले टोली पठाउने निर्णय भएको हो । टोलीले मधेश प्रदेशमा रहेका मन्त्रालय अन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीसँग पनि समन्वय गर्नेछ ।
मधेश प्रदेश सरकारले लामो समय पानी नपर्दा खानेपानीको समेत अभाव भएको र धान रोप्ने अवस्था समेत नभएको भन्दै केही दिनअघि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
मन्त्री अधिकारीले हाल रहेका सिँचाइ संरचना पूर्णरूपमा सञ्चालन गरी सिँचाइका लागि अन्य विकल्प के–के हुन सक्छन् भनेर सम्बन्धित निकायसँग छलफल गरी तत्कालीन र दीर्घकालीन निर्णय गरिने बताए ।
मधेशका ८ जिल्लामा हालसम्म करिब ४६ प्रतिशत रोपाइँ सकिएको मधेश प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।








