जनकपुर, साउन ४ गते ।
मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले शान्ति सुरक्षा सुदृढ बनाउने तथा प्रहरी आचरण र अनुशासनमा कडाइ गर्ने निर्देशन दिएका छन् ।
पछिल्लो समय मधेश प्रदेशको विभिन्न जिल्लामा प्रहरीको अनेक कमजोरी उजागर भएपछी डिआईजी चतुर्वेदी कडा रुपमा प्रस्तुत भएका छन् ।
आइतबार भर्चुअल माध्यमद्वारा आयोजित एक बैठकमा उनले जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, विशेष सुरक्षा गण ढल्केवर, मधेश प्रदेश प्रहरी गण जनकपुर, र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूसँग समन्वय गर्दै निर्देशन दिएका हुन् ।
उनले हालको शान्ति सुरक्षाको अवस्था विचार गर्दै मातहतका इकाईहरूको काम कारबाहीको सुपरिवेक्षणलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए । चतुर्वेदीले प्रहरी आचरण, अनुशासन र सेवा प्रवाहमा सुधार ल्याई शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न आग्रह गरे ।सीमावर्ती क्षेत्रहरूमा हुने चोरी, निकासी पैठारी तथा राजस्व चुहावट नियन्त्रणमा प्रहरीको भूमिका निष्पक्ष, सक्रिय र प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, सिमान्तकृत, पिछडिएका तथा अल्पसंख्यक समुदायहरूलाई प्राथमिकतामा राख्दै नागरिकका गुनासो र समस्याको संवेदनशीलतापूर्वक सुनुवाइ गर्नुपर्नेमा चतुर्वेदीले विशेष ध्यान दिन निर्देशन दिए । प्रहरी आचरण बिरुद्द चल्ने जो कोहिमाथी कडा कार्वाही गर्ने उनले चेतावनी समेत दिएका छन् ।
‘प्रहरी कर्मचारीहरू सेवा प्रवाहमा सहनशील, शिष्ट, सभ्य र उत्तरदायी बन्नुपर्छ,’ उनले भने, ‘प्रहरीको बोली, व्यवहार र आचरण आम नागरिकमैत्री हुनुपर्छ ।’ चतुर्वेदीको निर्देशनले मधेश प्रदेशमा प्रहरी सेवा सुधार र शान्ति सुरक्षाको अभिवृद्धिमा थप गति ल्याउने अपेक्षा गरिएको छ ।








