नवलपरासी, वैशाख ६ गते ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आबमा ५९ हजार १२० मेट्रिकटन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष आलु खेती गरिने क्षेत्र र उत्पादनसमेत बढेको छ ।
जिल्लामा यस आर्थिक वर्षमा तीन हजार २१६ हेक्टर क्षेत्रफलमा आलु खेती भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष खेती गरिने क्षेत्र र उत्पादनसमेत बढेको उनले बताए ।
“गत आर्थिक वर्ष तीन हजार २०५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदा ५८ हजार ४१३ मेट्रिकटन उत्पादन भएको थियो”, उनले भने, “गत आवको तुलनामा यस वर्ष ११ हेक्टर क्षेत्रफल बढेको छ भने ७०७ मेट्रिकटन आलु धेरै उत्पादन भएको छ ।”
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा विगत चार वर्षदेखि आलु खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो चार वर्षमा जिल्लामा आलु खेती १०१ हेक्टर क्षेत्रफल बढेको छ । क्षेत्रफल बढेसँगै आलुको उत्पादन पनि वृद्धि भएको प्रमुख तिवारीले बताए ।
“जिल्लामा आर्थिक वर्ष २०७८र७९ मा तीन हजार ११५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको तथ्याङ्क रहेको छ भने त्यो क्षेत्रफल चालु आव २०८१र८२ सम्म १०१ हेक्टरले बढेर तीन हजार २१६ हेक्टरमा विस्तार भएको छ”, उनले भने, “उत्पादन पनि आव २०७८र७९ मा ५० हजार १५२ मेट्रिकटन भएकोमा त्यसमा आठ हजार ९६८ मेट्रिकटनले वृद्धि भएर ५९ हजार १२० मेट्रिकटन वार्षिक उत्पादन हुन थालेको छ ।”
जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । पछिल्लो चार वर्षको आलु खेती गरिने क्षेत्रफल र उत्पादन हेर्दा प्रत्येक वर्ष वृद्धि हुँदै गएको देखिएको कृषि ज्ञान केन्द्रका कृषि बाली विज्ञ सञ्जय ढकालले बताए ।
“आलु उत्पादनका हिसाबले नवलपरासी ९बर्दघाट सुस्तापूर्व० आत्मनिर्भर रहेको छ,” उनले भने, “सरकारी तहबाट लगानी वृद्धि हुँदा कृषक आलु खेतीतर्फ आकर्षित भएका छन् ।”
कृषि ज्ञान केन्द्रले चालु आवमा समुदायस्तमा प्रशोधनयोग्य र खायन आलु प्रवर्द्धनको लागि कुल एक करोड ८५ लाख रकम विनियोजित गरेको थियो । आलुको बीउको लागि कृषि ज्ञान केन्द्रले ३१ वटा समूह एवं सहकारीलाई ६५ प्रतिशत अनुदानमा करिब ८० लाख बराबरको अनुदान प्रदान गरेको कृषि बाली विज्ञ ढकालले जनकारी दिए ।
जिल्लाको मध्यविन्दु र कावासोती नगरपालिका एवं हुप्सेकोट गाउँपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै बुटवल, नारायणगढ र काठमाडौँलगायतका सहरमा जाने गरेको छ । रासस








