जनता आवास कार्यक्रमअन्तर्गत २० घर निर्माण हुँदै

कैलाली, जेठ ३ गते ।

जनता आवास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण हुने भएका छन् । सहरी विकास तथा भवन कार्यालय कैलालीमार्फत चालु आर्थिक वर्ष २०८१÷८२ मा उक्त घर निर्माण हुने भएका हुन् ।

प्रदेश सरकारको बजेटमा विपन्न परिवारका कैलालीमा १० र कञ्चनपुरमा १० वटा दुई कोठे घर निर्माण हुन लागेको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिनुभयो । उहाँले हालसम्म १५ घर निर्माणका लागि सम्झौता भएर निर्माण कार्य सुरु भइसकेको छ । कैलालीको भजनी नगरपालिकाका–२, ५, ८ र ९ मा १० र कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका ३ र ७ मा पाँच घर निर्माणको काम सुरु भइसकेको उनले जानकारी दिए ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ र १२ मा पाँच घर निर्माण गरिने जनाउँदै उहाँले लाभग्राहीको नामावली छनोट भइसकेको र छिट्टै निर्माण सम्झौता भएर काम अघि बढ्ने बताए । २० वटा घर निर्माणका लागि प्रदेश सरकारले चालु आवमा रु ७० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

कैलालीमा प्रतिघर निर्माण लागत अनुमान रु चार लाख ८३ हजार ९९१ र कञ्चनपुरमा प्रतिघर निर्माण लागत अनुमान रु चार लाख ९६ हजार २३३ रहेकामा कार्यालयले प्रतिघर निर्माणका लागि रु तीन लाख ५० हजार उपलब्ध गराउने तथा बाँकी रकम बराबरको लाभग्राहीले श्रमदान गर्ने उहाँले जानकारी दिए । उनले चालु आवमै सबै घर निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य रहेको बताए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको