सिरहा, जेठ १७ गते ।
महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड किन्न बन्दनाकुमारी महतोलाई बुवाआमासँग आवश्यक पैसा मागिरहनुपर्ने बाध्यता टरेको छ । सिरहाको नवराजपुर गाउँपालिका–४ सोनवर्षास्थित जनता नमूना ९प्राविधिक धार० माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा बन्दनाले तीनदिने तालिम पछि घरैमा आफैँ प्याड बनाउन सक्ने भएको छ ।
स–साना कपडाको टुक्राबाट महिनावारी हुँदा प्रयोग गर्न मिल्ने प्याड बनाउन जानेपछि उहाँले खुसी लागेको बताए । “अब सेनेटरी प्याड किन्न घरमा पैसा मागिरहनु परेन । पहिला मम्मीसँग माग्थे, अब त्यो परेन । स–साना कपडाको टुक्राबाट राम्रोसँग प्याड बनाउन सिकेकी छु”, खुसी व्यक्त गर्दै बन्दनाले भने, “पकेटमा रुमाल राखे जसरी लिएर हिड्न सक्छौँ । जतिबेला जरुरी पर्छ त्यसैबेला प्रयोग गर्न सकिन्छ ।” घरेलु प्याड लगाउँदा महिनावारीको समयमा सुरक्षित हुने तरिकाबारे पनि सिकेको उनले जानकारी दिए ।
बन्दनाजस्तै रमेश महतो स्मृति जनता माध्यमिक विद्यायलमा कक्षा १० मा अध्ययनरत अर्का छात्रा पूजाकुमारी चौधरीलाई पनि तालिमले निकै सहज बनाइदिएको छ । तालिमबाट प्याड बनाउन सिक्नुभएकी उहाँ आफूले प्रयोग गर्नेमात्रै नभएर दिदी बहिनी र आमालाई प्रयोग गर्ने प्याड घरमै बनाउने सोचमा हुनुहुन्छ ।
छात्रा पूजाको परिवारमा आमा, दिदी र बहिनीले पनि कपडाकै प्रयोग गर्नेगरेको बताउँदै उनीहरुलाई पनि घरमै कपडाको प्रयोग गरी पुनःप्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका सिकाई व्यवसायिक बन्न सकिने उहाँको भनाइ छ । उनले भने, “बजारमा विभिन्न कम्पनीका सेनेटरी प्याड उपलब्ध हुन्छन् । तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन् । त्यसैले घरमै व्यवसायिकरूपमा कपडाको प्याड बनाएर बिक्री गरेर आम्दानी लिन सकिन्छ । गाउँ घर टोल छिमेकीलाई सिकाउन सकिन्छ ।”
बन्दना र पूजाजस्तै दुई विद्यालयका गरी ५३ छात्राले बुधबारदेखि शुक्रबारसम्म जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयमा तीन दिने तालिम लिएका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा सृजनशील नेपाली युवा समूह लहानले सञ्चालन गरेको तालिमपछि कक्षा १० मा अध्ययनरत छात्रामा कपडाको प्रयोग गरी पुनःप्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका अरुलाई सिकाउने आत्मविश्वास बढेको देखिन्छ ।
महिनावारीका समयमा किशोरीमा विद्यालय आउनसमेत नसक्ने अवस्था रहने हुनाले उनीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफैले बनाएको प्याड प्रयोग गर्नसके स्वास्थ्यका लागि पनि राम्रो हुने उद्देश्यले तालिम दिइएको प्रशिक्षक प्रतिभा गुप्ताले बताए । किशोरीहरुले महिनावारीको समयमा ध्यान दिनुपर्ने कुरा, स्वस्थ तरिकाले प्याड प्रयोग गर्ने विधिबारेसमेत तालिममा सिकाइएको उनले बताए ।
त्यस्तै, तालिमका अर्का प्रशिक्षक सङ्गिता चौधरले कमजोर आर्थिक अवस्थाका कारण कतिपयले बजारमा प्याड खरिद गर्न नसक्ने भएकाले कपडाको उचित तवरले प्रयोग गर्न नजान्नेको लागि तालिम प्रभावकारी भएको विश्वास व्यक्त गर्नुभयो । उनले भने, “बजारको प्याड किनेर प्रयोग गर्न पैसा हुन्न । कपडा, सुई, धागो, टाँक, कैची भएपछि घरेलु प्याड बनाउन सकिन्छ । त्यसैले हाम्रो लागि यो प्याड बजारको भन्दा राम्रो छ । इन्फेक्सनबाट पनि जोगाउँछ ।”
ग्रामीण समुदायमा किशोरीसँग साथमा पैसा नहुने र महिनावारीको समयमा उनीहरुको पठनपाठन नै प्रभावित हुने देखिएपछि विद्यालयले तालिमको लागि सहजीकरण गरेको जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयका प्रधानाध्यापक मुरारी शर्माले जानकारी दिए । महिनावारी भएको समयमा उनीहरु आफैँ प्याड तयार गरी प्रयोग गर्न सक्ने भएको बताउनुहुँदै उहाँले यो तालिमले सहज बनाएको बताए । रासस








