काठमाडौँ, असार ८ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेस्रो स्थापना दिवसका अवसरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय सार्बजनिक गरिएको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकले उपसभापति डा। स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
रास्वपा केन्द्रीय समितिको बैठकका निर्णयहरुः
१. देशको विद्यमान राजनीतिक घटनाक्रमप्रति गम्भीर समीक्षा गर्दै भिजिट भिसा प्रकरणमा पार्टीले राखेको अडानलाई संसदीय दलका नेताहरूले संसदमा दृढताका साथ प्रस्तुत गर्नुभएकोमा संसदीय दलप्रति आभार व्यक्त गर्दै संसदमा लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धनका पक्षमा सशक्त रूपमा अडिग रहन निर्देशन दिने ।
२. पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा २०८२ जेठ १९ गते र असार ५ गते बसेका पार्टी सचिवालयका बैठकहरूमा गरिएका निर्णयहरू केन्द्रीय समितिमा अनुमोदनका लागि प्रस्तुत गरिएकोमा ती सबै निर्णयहरूलाई पूर्णतः अनुमोदन गर्ने निर्णय गरिएको छ ।
३. पार्टीका रिक्त रहेका तथा पुनः संयोजन आवश्यक पदहरूमा निम्नानुसार मनोनयन गरिएको छः
–प्रशिक्षण विभाग प्रमुखमा सह–महामन्त्री विपिनकुमार आचार्य ।
–अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा कार्यवाहक प्रवक्ता मनिष झा ।
–अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखमा उप–प्रमुख रवि किरण अधिकारी ।
४. पार्टी उपसभापति डा। स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झालाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
५. तेस्रो स्थापना दिवसका अवसरमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेको तर्फबाट केन्द्रीय समिति, तहगत समिति, संयन्त्रहरू, सम्पूर्ण पार्टी सदस्य, शुभचिन्तक र आम नागरिकहरूलाई ऐक्यबद्धतापूर्वक साथ र समर्थन प्रदान गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । उनले चुनौतीपूर्ण परिस्थितिमा समेत साथ दिँदै आएका सदस्यहरू र शुभेच्छुकहरूप्रति आगामी दिनमा देश निर्माणको महान् उद्देश्यमा निरन्तर साथ र सहकार्यको अपेक्षा सहित शुभकामना व्यक्त गर्नुभयो ।
साथै, पार्टी निर्माणको यथार्थ यात्रामा केन्द्रीय समिति र पार्टी पंक्तिमा देखा परेका आपसी गुनासाहरूलाई बिर्सेर, एक ढिक्का भई अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै कार्यवाहक सभापतिज्यूले सम्पूर्ण पार्टी पंक्तिलाई परस्पर शुभकामना आदान–प्रदान गर्न अनुरोध समेत गर्नुभयो ।
६. पार्टी सभापति रवि लामिछाने विरुद्ध गरिएको राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियानलाई जनतामाझ पुर्याउन देशैभर अभियानलाई सशक्त रुपमा लैजाने र सुरुवात आजकै दिनबाट देशैभर वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरू मनाउँदा हस्ताक्षर अभियानलाई पनि सँगसँगै लैजाने । एभरेष्ट न्यूज एजेन्सी








