ढाका, साउन ११ गते ।
बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसले अब रोहिंग्या समुदायका मानिसहरूलाई सहयोग गर्न गाह्रो भइरहेको बताए पछि शरणार्थीहरूको समस्या थप बढने देखिएको छ ।
हाल बंगलादेशमा १३ लाखभन्दा बढी रोहिंग्या शरणार्थी रहेको बताइन्छ । युनुसले भने, ‘यो रोहिंग्या शरणार्थी समस्या बंगलादेश र विश्वका लागि ठूलो चुनौती हो । यस मुद्दामा विश्व एकजुट हुनुपर्छ र रोहिंग्या मुस्लिमहरूलाई आफ्नो घर फर्कन मद्दत गर्नुपर्छ ।’
सन् २०१७ को अगस्टदेखि म्यानमारमा भएको हिंसा पछि रोहिंग्या समुदायका मानिसहरूले देश छाडेका थिए । यसपछि उनी भागेर धेरै देशमा बसोबास गरिरहेका छन् । त्यस मध्ये धेरै जसो अधिकांश बंगलादेश प्रवेश गरेका थिए । त्यसपछि शेख हसिना सरकारले लाखौं रोहिंग्यालाई आश्रय दिएको थियो ।
यस घटनाको आठौं वर्षगाँठमा युनुसले रोहिंग्याको घर फर्किने ७ बुँदे रोडम्याप पनि जारी गरेका छन् । उनले शरणार्थीका कारण बंगलादेशको अर्थतन्त्र र वातावरणमा दबाब बढेको बताए ।
म्यानमारको रखाइन प्रान्तमा अराकान सेनाको दमनबाट बच्न रोहिंग्या मुस्लिमहरू २५ अगस्ट २०१७ मा बंगलादेशमा भागेका थिए । उनीहरुलाई तत्कालीन शेख हसिनाको सरकारले कक्स बजारमा आश्रय दिएको थियो । त्यो साता मात्रै करिब ७० हजार रोहिंग्या बंगलादेश आएका थिए । बंगलादेशमा पहिले नै ३ लाखभन्दा बढी शरणार्थी बस्दै आएका छन्, त्यो क्रमशः बढेर १३ लाख पुगिसकेको छ । कक्स बजार हाल विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरको घर मध्ये एक मानिन्छ ।
रोहिंग्या मुस्लिमहरू म्यानमारको अराकान प्रान्तमा बस्ने अल्पसंख्यक हुन् । शताब्दीयौंअघि अराकानका मुगल शासकहरूले यहाँ बसोबास गराएका थिए । तर, सन् १७८५ मा बर्माका बौद्ध धर्मावलम्बीहरूले देशको दक्षिणी भाग अराकानलाई कब्जा गरेर हजारौं रोहिंग्या मुस्लिमहरूलाई आफ्नो इलाकाबाट बाहिर निकालेका थिए ।
यसपछि बौद्ध धर्मका मानिसहरू र रोहिंग्या मुस्लिमहरू बीच हिंसा र नरसंहारको एक काल सुरु भयो, जुन अहिलेसम्म जारी छ। म्यानमारका लाखौं रोहिग्याहरू घरवार बिहिन भएर नेपाल, भारत, बंगलादेशलगायत देशमा बसोबास गरिरहेका छन् ।






