सिरहा, भदौ ११ गते ।
सिरहाको गोलबजारदेखि उदयपुरको कटारी-६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर लामो अन्तरप्रदेशीय नयाँ सडक मार्ग खोलिने भएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीद्वारा निर्माण गरिने यो सडक पूर्व–पश्चिम राजमार्गलाई चुरे क्षेत्र पार गर्दै मदन भण्डारी लोकमार्गमा जोड्नेछ ।
आयोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ मा प्रारम्भिक चरणका लागि तीन करोड बजेट विनियोजन गरिएको छ। सघन सहरी आयोजनाका इञ्जिनियर उदयनारायण चौधरीले भने, ‘सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन र प्रारम्भिक वातावरणीय मूल्याङ्कन तयार गर्न पाँच सदस्यीय सहयोग समिति गठन भइसकेको छ ।’
नयाँ सडकमार्ग गोलबजारको पुरानो चोहर्वा बजारबाट शुरु भई घुर्मी बजार हुँदै चुरेफेदीका बस्तीहरू पार गर्दै उदयपुरको रिस्कुसम्म पुग्नेछ । निर्माण पूरा भएपछि मदन भण्डारी राजमार्गसम्मको पहुँच सहज हुनेछ ।
अहिले रिस्कुवासीलाई सिरहाको मर्चैया वा सप्तरीको कदमहा बजार हुँदै लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले उनीहरूको समय, खर्च र ऊर्जा दुवै खर्चिन्थ्यो । नयाँ सडकले दुरी छोटो हुने र बजारसम्म पुग्न सहज हुने भएकाले विशेष गरी चाडपर्वको समय घरायसी सामान तथा लत्ताकपडा किनमेल गर्न गोलबजार जान झञ्झट नहुने उनीहरू बताउँछन् ।
आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ, मधेस प्रदेशसभा सदस्य मनोजकुमार सिंह, गोलबजार नगरप्रमुख श्यामकुमार श्रेष्ठ, सम्बन्धित वडाध्यक्षहरू तथा आयोजना इञ्जिनियर चौधरीको सहभागितामा अनुगमन र समन्वयको संरचना बनाइएको छ ।
पूर्वमन्त्री श्रेष्ठले समितिलाई एक महिनाभित्र सडकको ट्रेस (मार्ग) निर्धारण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिए । ‘कामको जिम्मेवारी लिनेले निष्क्रिय बस्न मिल्दैन । समयमै काम सम्पन्न गर्नुपर्छ, नभए विगतझै बजेट फ्रिज भएर जान्छ । त्यसैले, सक्रियताका साथ लाग्न सबैलाई विशेष आग्रह गर्छु’, उनले भने । साथै उनले उदयपुरतर्फको कामका लागि जनप्रतिनिधिसँग समन्वय भइरहेको जानकारी दिए ।
सिरहा–उदयपुर जोड्ने यो अन्तरप्रदेशीय सडकमार्गले दुर्गम क्षेत्रलाई सहरी पूर्वाधारसँग जोड्नेछ । आवागमनमा सहजता ल्याउनुका साथै व्यापार, कृषि, पर्यटन र स्थानीय सेवा सुविधामा दीर्घकालीन प्रभाव पार्ने चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रकुमार महतोको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया








