विद्यालय फर्कँदै दलित समुदायका बालबालिका

सिरहा, भदौ ११ गते ।

विद्यालय छाडेका यहाँको लहान नगरपालिका– १८ का दलित तथा मुसहर समुदायका बालबालिका शैक्षिक सामग्री पाएपछि पुनः विद्यालय फर्केका छन् ।

शैक्षिक सामग्री वितरण र निःशुल्क ‘ट्युसन’ कक्षा सञ्चालन गरेपछि कक्षा १ देखि ८ सम्मका विद्यालय छाडेका ६० जना बालबालिका विद्यालय फर्किएका हुन् ।

यसैअन्तर्गत आज विसनपुर र शोभापुरका ४९ जना विपन्न बालबालिकालाई विद्यालयप्रति आकर्षित गराउन झोला, कापी, छाता, पानी बोतल, जुत्ता, पोसाक, कलम, पेन्सिल, इरेजरलगायत सामग्री वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त सामग्री वितरण गरेको हो ।

नगरप्रमुख चौधरीले भने, “हामी विद्यालय सुधारमा लागिपरेका छौँ । दलित तथा विपन्न समुदायका बालबालिकाले विद्यालय नछाडुन् भन्ने हेतुले शैक्षिक सामग्री वितरणलाई निरन्तरता दिइरहेका छौँ ।”

उक्त कार्यक्रम रोटरी क्लब काठमाडौंँको आर्थिक सहयोगमा र दलित जनकल्याण युवा क्लबको आयोजनामा गरिएको हो । क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्खेले विसनपुर र शोभापुरसहित लहान–१३ स्थित घलेटोलका विद्यालय छाडेका बालबालिकालाई पुनः विद्यालयमा भर्ना गराइएको जानकारी दिए ।

उनले भने, “यो कार्यक्रम लहान नगरपालिकासँगको समन्वयमा अघि बढाइएको हो । हामीले विद्यालयबाट विमुख बालबालिकालाई पुनःशिक्षामा फर्काउन ट्युसन कक्षा, शैक्षिक सामग्री वितरण र अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको