मधेशका प्रारम्भिक बाल विकास केन्द्रमा औसत भर्नादर ६२ प्रतिशत मात्रै

सन्तोष सिंह 
महोत्तरी, भदौ १४ गते ।

स्थानीय तहका प्रमुखहरुले सामुदायिक विद्यालयको बालविकास प्रभावकारी बनाउन त्यसलाई विद्यालयबाट अलग गर्नुपर्ने बताएका छन् ।

विद्यालय प्रशासनले बालविकास कक्षालाई प्राथमिकतामा नराख्दा बालविकासको भौतिक संरचना जीर्ण, व्यवस्थापन फितलो र विद्यार्थी न्यून हुँदा सामुदायिक विद्यालयको जग नै कमजोर बनेको जनप्रतिनिधिहरुले स्वीकारेका छन् ।

मधेश प्रदेशमा प्रारम्भिक बाल विकास केन्द्रहरुमा भर्ना औसत ६२ प्रतिशत रहेको, जुन राष्ट्रिय औसत दर ७० प्रतिशत भन्दा कम रहेको सेभ द चिल्ड्रेन बर्दिबास फिल्ड कार्यालयले जनाएको छ ।

मधेश प्रदेशका महोत्तरी र सर्लाहीमा १८ प्रतिशत प्रारम्भिक बालविकास केन्द्रमा मात्रै बाल सुलभ सिकाइ सामग्रीहरु र १०।९ प्रतिशत मात्र पर्याप्त पाठ्यपुस्तक सहितको बुक कर्नर रहेकाले लक्षित स्थानीय तहमा अधिकांश बालविकास केन्द्रहरुले सरकारले तोकेको न्यूनतम मापदण्ड समेत पूरा गरेका छैनन् ।

पूर्वाधार, सिकाइ सामग्री, हेरचाहकर्तामा चेतना र अपांगता समावेशितामा गहिरो खाडल देखिएको महोत्तरी र सर्लाहीमा ५३ प्रतिशतभन्दा भन्दा बढी जनसंख्या निरक्षर रहेका छन् । दुवै जिल्लामा ३–५ वर्ष उमेर समूहका बालबालिकालाई सेभ द चिल्ड्रेन बर्दिबास फिल्ड कार्यालयबाट गुणस्तरीय सिकाइ, सर्वोत्तम हित र विकास अवसरमा समान पहुँच सुनिश्चित परियोजना सञ्चालन गरेको छ ।

विद्यालयहरुमा राजनीतिक पहुँचका अधारमा बालविकास शिक्षकको नियुक्ति भएको, बालबालिकाको मनोविज्ञान बुझन सक्ने जनशक्तिको अभाव र बालविकास शिक्षकको पारिश्रमिक न्यून हुँदा विद्यालय प्रवेश गर्ने आरम्भ कक्षामा लगानी अनुसारको परिणाम आउन नसकेको मनरासिसवा नगरपालिकाका प्रमुख मोहन पाण्डेयले बताए ।

गुणस्तरीय, समावेशी प्रारम्भिक बालविकास र आधारभूत शिक्षाका लागि साझेदारी परियोजना आरम्भ कार्यक्रममा नगर प्रमुख पाण्डेयले सामुदायिक विद्यालयमा कक्षा ४ पछि मात्रै विद्यार्थी भर्ना आउने गरेकाले कक्षा ३ सम्मको पढाइ छुट्टै गर्ने नीतिगत सुधारको खाँचो रहेको बताए ।

‘सामुदायिक विद्यालयमा विद्यार्थीलाई दिवा खाजा दिँदासमेत बालविकासमा भर्ना नभई निजी विद्यालयमा जान्छन्,’ नगर प्रमुख पाण्डेयले भने, ‘निजी विद्यालयमा ३ वर्षसम्म पूर्व प्राथमिक तहमा पढेर कक्षा १ मा पढाइका लागि मनोवैज्ञानिक रुपले तयार भई भर्ना हुन्छ । तर सामुदायिक बालविकास केन्द्रमा एक वर्ष मात्रै पढाएर कक्षा १ मा भर्ना हुँदा विद्यार्थी पढ्न सक्ने अवस्थामा पुगेकै हुँदैन । शिक्षामा बाहिरको नक्कल र अनुसन्धान नेपालमा गर्दा शिक्षा योजना प्रभावकारी बन्न सकेको छैन ।’

बरहथवा नगरपालिका सर्लाहीकी नगर प्रमुख कल्पना कटुवालले सामुदायिक विद्यालयको शिक्षा सुधार्न बालविकास सुधार्नुपर्ने बताइन् । ‘बालविकास सिकाइ प्रभावकारी नहुँदा सामुदायिक विद्यालयको शिक्षा गुणस्तर नै खस्किएको छ,’ उनले भनिन्, ‘स्थानीय तहको पहल र प्रयास भए पनि बालविकास भर्ना न्यून छ । सामुदायिक विद्यालयको व्यवस्थापनको प्राथमिकतामा बालविकास पर्न सकेको छैन ।’

सामुदायिक विद्यालयमा बालविकास प्रभावकारी बनाउन सेभ द चिल्ड्रेनको सहयोगमा मधेश प्रदेशका महोत्तरी र सर्लाहीका ६ स्थानीय तहमा गुणस्तरीय, समावेशी प्रारम्भिक बालविकास र आधारभूत शिक्षाका लागि साझेदारी परियोजना लागू भएको छ ।

महोतरीको पिपरा, बलवा, मनरासिसवा र सर्लाहीको हरिपुर, कविलासी र बरहथवा नगरपालिकामा सुरु भएको गुणस्तरीय, समावेशी प्रारम्भिक बालविकास र आधारभूत शिक्षाका लागि साझेदारी परियोजना अन्तर्गत बालविकास कक्षा मर्मत, बालबालिकालाई जोखिममुक्त बनाएर प्रभावकारी बनाउने सेभ द चिल्ड्रेन बर्दिबास, फिल्ड कार्यालय प्रमुख धन भुसालले बताइन् ।

न्यूनतम मापदण्ड पूरा नभएको बालविकास केन्द्रमा कक्षाकोठा निर्माण तथा जीर्णोद्धार, सुरक्षित एवं पहुँचयोग्य सिकाइ वातावरण निर्माणको लागि खानेपानी, सरसफाइ र स्वच्छता, विद्यालयमा आधारित प्रारम्भिक बालविकास (ईसीडी) केन्द्रहरूको पूर्वाधार सुधार गरिने उनको भनाइ छ ।

सिकाइ सामग्री वितरण, घरमै पुस्तकालय स्थापना, अपाङ्गता भएका बालबालिकाको पहिचान र सहायक उपकरण उपलब्धता, अभिभावक तथा शिक्षकको क्षमता विकास साथै स्थानीय सरकारलाई नीति तथा रणनीति निर्माणमा सहयोग गर्दा ११ हजार ६ सय भन्दा बालबालिका लभान्वित हुने भुसालले बताइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको